१६ भदौ

काठमाडौँ । “भरे कुरा गरौँला।” गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति मात्र भनेर फोन राखेका थिए। काम सुरु हुन लागेको थियो, यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा जुटिरहेकी थिइन्।

तर त्यसको केही समयपछि नै रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सबै कुरा फेरिदियो। बाढीको खबर पाएपछि रविनाबाटै छुटेको त्यो संवाद नै उनीहरूबीचको अन्तिम संवाद बन्न पुग्यो।

मकवानपुरको भीमफेदी गाउँपालिका–२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा चालकका रूपमा कार्यरत थिए। एक महिनाको बिदा सकेर घर आएका उहाँ केही दिनमै कम्पनीले बोलायो भन्दै भदौ ७ गते काममा फर्किएका थिए। घर आउँदा लामो बिदा भनी आएका सविन केही दिनमै फर्किनुपर्दा परिवारमा खिन्नता छाएको थियो, तर कसैलाई कल्पना थिएन कि त्यो फिर्ती सधैँका लागि बिछोड बन्नेछ।

सुरुका दुई दिन कुनै सुखद खबरको आशामा बसेको परिवार अन्ततः नवलपरासीमा फेला परेको शवको बायाँ हातमा रहेको ट्याटुमार्फत सविनको पहिचान गर्न बाध्य भयो। वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका बुबा, आमा, भाइ, श्रीमती र पाँच वर्षीया छोरीलाई छोडेर सविन सदाका लागि अस्ताएका छन्।

उता, हेटौँडा उपमहानगरपालिका–५ ढुङ्गेधारामा अर्को परिवार पनि यस्तै गहिरो बेचैनी र त्रासमा बाँचिरहेको थियो। चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरू र छोरी निमिसालाई पनी पठनपाठनको सहजताका लागि रसुवामै कोठा भाडामा राखेका थिए। भदौ १० गते बाढीको खबर फैलिँदा उद्धवसँगै कोठामा रहेकी पत्नी र छोरी पनि सम्पर्कविहीन बनेका थिए।

हेटौँडाबाट खोजीका लागि निस्किएको स्थानीय टोलीले नुवाकोट पुग्दा नेपाल प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएकाहरूको सूचीमा आमा–छोरीलाई जीवितै भेट्टायो। निरू र निमिसा सकुशल फर्किएपछि उद्धव पनि सुरक्षित होलान् भन्ने परिवारको आशा जागेको थियो, तर भदौ १२ गते नवलपरासीमै उद्धवको पनि शव फेला पर्‍यो। शनिबार मात्रै परिवारसँग समय बिताएर काममा फर्किएका उद्धव अब कहिल्यै नफर्कने गरी टाढिएका छन्।

यी दुई पात्र जस्तै, हेटौँडा–१५ भोर्लेका २६ वर्षीय सुमन गोलेको कथा पनि उत्तिकै मर्माहत छ। राम्रो आम्दानीको आशामा दुई महिनाअघि मात्रै रसुवा पुगेर स्काभेटर चलाउन थालेका सुमनले पनि बाढी आउने दिन बिहान करिब ६ बजे श्रीमती रेविकासँग अन्तिम कुराकानी गरेका थिए।

रातिको ड्युटी सकेर निकै थाकेकाले “अहिले सुत्छु, दिउँसो फोन गरौँला” भनेका सुमन त्यो निद्राबाट कहिल्यै उठेनन्। बाढी आउँदा सुतिरहेका उहाँलाई साथीहरूले उठाउन खोजे पनि समयले साथ दिएन। अन्त्यमा सुमनको शव पनि नवलपरासीमै फेला पर्यो। सानो छोरा र भाइलाई छाडेर गएका सुमनको प्रस्थानले सिंगो परिवार शोकमा डुबेको छ।

सविन, उद्धव र सुमनका घरपरिवार फरक थिए, रसुवा पुग्ने समय र जिम्मेवारी पनि बेग्लाबेग्ला थिए। तर, उनीहरूलाई घरबाट सयौँ कोस टाढा रसुवाका भोटेकोशी किनारसम्म पुर्‍याउने कारण एउटै थियो— परिवारको मुहारमा खुसी ल्याउने र भविष्य उज्यालो पार्ने एउटा गतिलो रोजगारी।

बाढी आउनुअघि उनीहरूले आफ्ना जीवनसङ्गिनीसँग छिट्टै फेरि कुरा गर्ने बाचा गरेका थिए। तर प्रकृतिको क्रूर प्रहारले ती सबै योजना र बाचाहरूलाई भोटेकोशीको लेदोमा बगाइदियो। परिवारका सदस्यहरूले अस्पतालदेखि शव राखिएका स्थानसम्म भौंतारिँदै खोजेका ती प्रियजनहरू अन्ततः घर फर्कने बाटोमा होइन, शव पहिचान गर्ने चिसिएका ठाउँहरूमा पुगेर सदाका लागि टुङ्गिएका छन्।