१६ भदौ
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको पुष्टी भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मंगलबार बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणका कामलाई उच्च प्राथमिकताका साथ युद्धस्तरमा अघाइएको जनाएको छ।
प्राधिकरणका अनुसार बाढीले बगाएर विभिन्न जिल्लासम्म पुर्याएका शवहरू सङ्कलन गर्ने क्रममा सबैभन्दा बढी चितवनमा ३२१ (विभिन्न मानव अङ्गसहित), नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जनाको शव फेला परेको छ।
यसैगरी नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ। विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपश्चात् निको भई घर फर्किसकेका छन् भने नेपाली सेनाले मात्रै २ हजार ७४० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ।
सम्पर्कविहीन रहेका ३ हजार ९१६ जनामध्ये ५८३ जना विदेशी नागरिक र उनीहरूसँगै भ्रमणमा रहेका १६४ जना नेपाली रहेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत केही व्यक्तिहरू सम्पर्कविहीन भएको बताइएको छ।
बेपत्ताहरूको खोजी तथा उद्धारका लागि सरकारले सुरक्षा अंगका समग्रमा २१ हजार ११ जना सुरक्षाकर्मीहरूलाई मैदानमा उतारेको छ। खटिने जनशक्तिमध्ये नेपाली सेनाका ८ हजार ८९६, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना उद्धार कार्यमा अहोरात्र खटिएका छन्।
विभिन्न जोखिमयुक्त स्थानबाट हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ। यसक्रममा नेपाली सेनाले मात्रै ५७३ पटक जोखिमपूर्ण हवाई उडान गरी ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिकलाई सुरक्षित स्थानमा पुर्याएको छ। त्यस्तै, निजी क्षेत्रबाट २९ वटा र सशस्त्र प्रहरी बलमार्फत ५० वटा उडानहरू सञ्चालन गरी राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको छ।
सरकारले प्रभावित जिल्ला तथा पालिकासम्म तत्काल राहत पुर्याउन आर्थिक तथा भौतिक प्याकेज घोषणा गरेको छ। राहतस्वरूप रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ र सबैभन्दा बढी प्रभावित १५ वटा पालिकासम्म कुल ६ करोड ७५ लाख रुपैयाँ नगद राहत पठाइएको छ।
भौतिक राहततर्फ ३७ वटा ट्रक र ३७ वटा बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री स्थलगत मार्गबाट पठाइएको छ भने ९ वटा हवाई उडानमार्फत पनि अत्यावश्यक सामग्री ढुवानी गरिएको छ। हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका तोकिएका होल्डिङ सेन्टरहरूमा हजारौँ प्रभावितहरूलाई सुरक्षित आश्रय दिइएको छ।
प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। सञ्चार सम्पर्क विच्छेद भएका स्थानहरूमा नेपाल टेलिकमका क्षतिग्रस्त ११०० वटै टावरहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ मध्ये ७५ वटा टावरहरू पुनः सञ्चालनमा ल्याइएको छ।
बाढीले पहिचान गर्न असहज बनाएका शवहरूको फरेन्सिक परीक्षण तथा व्यवस्थापनका लागि विभिन्न जिल्लाका २१ वटा अस्पतालहरूलाई तयारी हालतमा राखिएको प्राधिकरणले जनाएको छ।









