२७ असार
काठमाडौँ । विश्वकप फुटबलको तेस्रो क्वार्टरफाइनल खेलमा आइतबार बिहान अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नर्वे र इङ्गल्याण्ड भिड्दै छन् ।
दुवै टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन् । नेपाली समय अनुसार यी दुई टोली बीचको खेल आइतबार बिहान २ः४५ बजे शुरू हुनेछ ।
नर्वे फुटबल संघले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रशिक्षण सत्रका तस्बिर सार्वजनिक गर्दै टोली इङ्गल्याण्ड विरुद्धको निर्णायक खेलका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ । पोस्टमा लेखिएको छ,‘निर्णायक दिनअघिको दिन ।’
प्रशिक्षक स्टाले सोलबाकेनको नेतृत्वमा रहेको नर्वे यस विश्वकपमा अप्रत्याशित रूपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीमध्ये एक बनेको छ । उसले प्रिक्वार्टरफाइनलमा पाँच पटकको विश्वकप विजेता ब्रजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
ब्रजिल विरुद्धको खेलमा एर्लिङ हालान्डले दुई गोल गरेका थिए । उनले उत्कृष्ट दोस्रो गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । ब्रजिलका लागि नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि नर्वेले ऐतिहासिक जित निकाल्यो ।
नर्वेले जारी विश्वकपमा आक्रामक खेल देखाउँदै पाँच खेलमा १२ गोल गरेको छ भने ९ गोल खाएको छ । समूह चरणमा फ्रान्ससँग पराजित भएको खेल बाहेक उसको प्रदर्शन प्रभावशाली रहेको छ ।
नर्वेको बाटोमा आत्मविश्वासका साथ अघि बढिरहेको इङ्गल्याण्ड रहेको छ । थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्गल्याण्डले प्रिक्वार्टरफाइनलमा सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।
१० खेलाडीमा सीमित भएर पनि इङ्गल्याण्डले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । जुड बेलिङ्घमले दुई गोल गरेका थिए भने ह्यारि केनले पेनाल्टीमार्फत अर्को गोल थपेका थिए ।
इङ्गल्याण्डले यस विश्वकपमा लगातार तीन खेल जितेको छ र हरेक जितमा कम्तीमा तीन गोल गरेको छ । पछिल्ला सात खेलमा उसले ६ जित निकालेको छ भने चीनविरुद्धको गोलरहित बराबरी मात्र अपवाद बनेको छ ।
यद्यपि विश्वकपको नकआउट चरणमा युरोपेली टोलीविरुद्ध इङ्गल्याण्डको विगतको प्रदर्शनले नर्वेलाई केही आशा दिएको छ । इङ्गल्याण्ड विश्वकपबाट पछिल्ला ६ पटक बाहिरिँदा पाँच पटक युरोपेली टोलीसँग पराजित भएको थियो ।
इतिहास भने इङ्गल्याण्डको पक्षमा देखिन्छ । नर्वेले विश्वकपमा अहिलेसम्म कुनै पनि युरोपेली टोलीलाई पराजित गर्न सकेको छैन । साथै इङ्गल्याण्डसँग पछिल्ला चार भेटमा नर्वेले गोल गर्न सकेको छैन । दुई टोलीबीचको समग्र प्रतिस्पर्धामा इङ्गल्याण्ड ७–२ ले अघि छ ।
यी दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ वेन रुनीको पेनाल्टी गोलमा इङ्गल्याण्ड १–० ले विजयी भएको थियो ।
अब सेमिफाइनल प्रवेशका लागि हुने यो भिडन्तमा नर्वे आफ्नो ऐतिहासिक यात्रा कायम राख्न चाहन्छ भने इङ्गल्याण्ड उपाधि अभियानलाई अझ बलियो बनाउने लक्ष्यमा हुनेछ ।
सर्वाधिक गोलकर्ताको सूचीमा नर्वेका खेलाडी हालान्ड तेस्रो स्थानमा छन् । उनले ७ गोल गरेका छन् । त्यस्तै इङ्गल्याण्डका केनले ६ गोल गरेका छन् । क्वार्टरफाइनलमा जो चल्छन् जित त्यही टिमको हुने निश्चित छ ।
त्यतिमात्र होइन दुवैतर्फ सन्तुलित टिम रहेको छ । जारी विश्वकपमा अहिलेसम्म अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पेले समान ८ गोल गरिसकेका छन् ।
विश्वकपको अन्तिम क्वार्टरफाइनलमा आइतबार बिहान पौने ७ बजे अर्जेन्टिना र स्वीट्जरल्याण्ड भिड्दै छन् ।
प्रिक्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले हराएर क्वार्टरफाइनलमा स्थान बनाएको हो भने काेलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्याण्डले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
दुवै खेलका विजेता सेमिफाइनलमा भिड्ने छन् । अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् ।







