२ जेठ

चीनले अमेरिकी विमान निर्माता बोइङसँग २०० वटा जहाज किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणबाट फर्कने क्रममा पत्रकारहरूसँगको कुराकानीमा बोइङका २०० वटा जहाज खरिद गर्न बेइजिङ सहमत भएको बताएका हुन्।

ट्रम्पले अरू ४/५ सय जेट इन्जिन खरिदका लागि पनि चीनले प्रतिबद्धता जनाएको बताएका छन्। २०० विमान र अरू ४/५ सय जेट इन्जिन किन्ने प्रतिबद्धता छ। पछिसम्म राम्रो हुँदै गए ७५० वटासम्म किन्ने योजना हो,’ ट्रम्पले भने।

उनले यो सम्झौतापछि अमेरिका-चीन सहकार्यमा नयाँ गति आउने विश्वास व्यक्त गरे। ट्रम्पको अभिव्यक्तिपछि बोइङले विज्ञप्ती जारी गरी चीन बजार पुनः खुलाउन सफल भएको भनेर दाबी गरेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

बोइङका प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्ग पनि ट्रम्पसँगै बेइजिङ भ्रमणमा सहभागी अमेरिकी व्यवसायिक प्रतिनिधिमण्डलमा थिए।

‘हाम्रो चीन भ्रमण अत्यन्त सफल रह्यो र बोइङ विमानका अर्डरका लागि चीन बजार पुनः खुलाउने मुख्य उद्देश्य पूरा भयो। यसमा प्रारम्भिक रूपमा २०० विमानको प्रतिबद्धता समावेश छ, र यसपछि थप प्रतिबद्धता आउने अपेक्षा गरेका छौं,’ बोइङले भनेको छ।

सम्झौता कार्यान्वयन भएको खण्डमा यो झन्डै एक दशकयता चीनमा बोइङ विमानको सबैभन्दा ठूलो एकमुष्ट बिक्री हुनेछ। यद्यपि कम्पनीले कुन मोडलका विमान बिक्री हुने र कुन चिनियाँ एयरलाइन्सले खरिद गर्ने भन्ने विवरण भने नखुलाएको टाइम्सले लेखेको छ।

चीन सरकार भने यस विषयमा सावधानीपूर्वक प्रस्तुत भएको छ।

ट्रम्प बेइजिङबाट फर्किएपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुन लाई विमान खरिदबारे सम्झौताबारे पत्रकारहरूले प्रश्न गरेका थिए।

उनले त्यसमा पुष्टि नगरी चीन–अमेरिका व्यापार सम्बन्ध पारस्परिक लाभमा आधारित रहेको मात्रै भनेका छन्।

‘दुवै पक्षले दुई राष्ट्राध्यक्षबीच भएको महत्वपूर्ण सहमतिलाई संयुक्त रूपमा कार्यान्वयन गर्दै चीन–अमेरिका आर्थिक तथा व्यापार सहकार्य र विश्व अर्थतन्त्रमा थप स्थायित्व ल्याउनुपर्छ,’ जबाफमा उनले भने।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि ट्रम्पसँग भेटपछि सहकार्यका विस्तृत परिणाम हासिल गरेको भनेका छन्। उनी विमान खरिद गर्नेबारे खुला रूपमा बोलेका छैनन्।

पछिल्ला वर्षहरूमा चीन–अमेरिका शिखर वार्ताअघि बोइङसँग ठूलो सम्झौता हुने अनुमान बारम्बार गरिए पनि धेरैजसो कार्यान्वयनमा आएका थिएनन्।

सन् २०२४ मा सरकारी स्वामित्वको चाइना डेभलपमेन्ट बैंकको विमान लिजिङ इकाइले ५० वटा बोइङ ७३७ म्याक्स–८ अर्डर गरेको थियो, तर त्यो शिखर वार्तासँग जोडिएको थिएन।