१० चैत

काठमाडौं । पार्टीको भ्रातृ संगठनको भूमिकाबाट स्वायत हुने नेपाल विद्यार्थी संघ (नेविसंघ) सिनेटको निर्णय कारबाहीको विषय बन्न सक्ने कांग्रेले चेतावनी दिएको छ ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीको विधानमै व्यवस्था भएका संस्थाले ‘म स्वायत भएँ’ भन्नु अराजनीतिक र अवैधानिक हुने बताएका छन् । उनले लोकतान्त्रिक पार्टीमा क्रिया प्रतिक्रिया राख्न पाइए पनि ती विषय विधानभित्र रहेर हुनुपर्ने कुरा सबैले ख्याल गर्नुपर्ने बताए ।
चालिसेले भने, ‘नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भ्रातृ संस्थाहरू पार्टीको विधानमै व्यवस्था भएका संस्थाहरू हुन् । कांग्रेसले निर्माण गरेका संस्थाले म अलग भएँ भनेर घोषणा गर्नु कति राजनीतिक, वैधानिक र अर्थपूर्ण हुन्छ ? त्यो भन्ने मान्छेले बुझ्नुपर्ने कुरा हो र गर्ने मान्छेले बुझ्नुपर्ने कुरा हो ।