१२ पुस

महेन्द्रनगर । नेकपा कञ्चनपुरको प्रचण्ड-नेपाल समूहले आइतबार मध्यान्ह बोलाइएको विस्तारित बैठक अघि नै ओली समूहले ताला लगाएकोमा बिबाद हुँदा तनाब श्रृजना भएको छ । आइतबार विहान पार्टी कार्यालयमा दुबै समूहबीच झडप हुँदा प्रचण्ड नेपाल समूहले केही बेरमै ओली समूहले लगाएर ताला तोडि दिएको छन् ।

दुबै समूहको झडपपछि प्रहरीले प्रचण्ड नेपाल समूहका नेतालाई बैठकका लागि कार्यालयभित्र जान रोक लगाएको छ । दुबै समूहका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले नेताहरुलाई पार्टी कार्यालय प्रवेश गर्न रोकेको हो ।

प्रहरीले माथिको आदेश भन्दै नेताहरुलाई प्रवेशद्वारमा रोकेको एक नेताले बताए । विस्ताररित बैठकका लागि नेकपाका जिल्ला सचिव तारालामा तामाङ्ग सहित पूर्व मन्त्री उर्वादत्त पन्त, पुर्व संविधान सभा सदस्य टिकेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु लाल बहादुर खड्का, प्रकाश रावल, मान बहादुर सुनार, कुलबीर चौधरी, नेताहरु ईश्वरी प्रसाद खरेल, रण बहादुर महरा लगायतका स्थानीय तहका नेपाल समुहका जनप्रतिनिधिहरु कार्यालय बाहिर बसेका छन् ।

उनीहरुले पार्टी कार्यालयमा बैठक बस्नका प्रहरीलाई अवरोध नगर्न दबाव दिएका छन् । बिस्तारित बैठकमा जिल्ला कमिटी सहित प्रदेश कमिटी, नगर र गाउँ कमिटी , स्थानीय र प्रदेश सरकारका सबै जनप्रतिनिधिलाई बोलाएको थियो । ओली समूहले बैठक अघि नै कार्यालयमा तालाबन्दी गरेपपछि बैठक बिथोलिएको छ ।

पार्टी कार्यालयमा सशस्त्र र जनपद प्रहरीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालवन गरिएका छन् ।