९ मंसीर
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत गतिविधि गर्ने नेता तथा जनप्रतिनिधिहरूलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिहरूलाई पद ओगटेर नबस्न सुझाव दिएका हुन्।
पार्टीको निर्णय र विधान नमान्ने व्यक्ति पदमा बसिरहन नमिल्ने उल्लेख गर्दै सभापति थापाले कांग्रेस एउटै मात्र रहेको र यसको महाधिवेशनसमेत सम्पन्न भइसकेको बताए। कांग्रेसको विधानअनुसार पार्टीको चुनाव चिह्न लिएर निर्वाचित व्यक्ति अर्को दलमा प्रवेश गरे सदस्यता कायम नरहने स्पष्ट पार्दै उनले राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई तत्काल राजीनामा दिन आग्रह गरे। “तपाईंले कांग्रेसको सदस्यता छाडेर अर्को कुनै पार्टीको सदस्यता लिन जानुभयो भने कृपया अहिले भएको सभा वा स्थानीय तहको पदबाट राजीनामा गर्नुहोला,” उनले बैठकमा भने, “राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नुपर्ने हो, त्यही गर्छ।”








