२४ मंसीर

सर्वोच्च अदालतले सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई रोक लगाइदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि उक्त निर्णय कानुनविपरीत भएको भन्दै अधिवक्ता सन्तोष भण्डारीले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सर्वोच्चले मंगलबार अन्तिम निर्णय दिएको हो । भू-उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि तोकिएको जग्गा हो, त्योबाहेक अर्को कामका लागि उक्त जग्गा प्रयोग गर्न नपाइने भनेको छ ।

भूमि व्यवस्था मन्त्रालयले गत भदौ १८ गते जग्गाको कित्ता गर्न पाइने निर्णय गरेको थियो । सरकारले २०७३ देखि जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो ।