५ कार्तिक
पर्वत। जिल्लाको विहादी गाउँपालिका वडा न २ बरौचौरको खहरे खोला देखि रानीपानीको पोखरेचौर हुँदै वहाकी जोड्ने सडकमा कालोपत्रेको काम शुरु भएको छ ।
कालोपत्रे गर्ने कामको प्रतिनिधि सभाका सांसद पदम गिरीले शुधभारम्भ गर्नुभएको हो ।
संघीय सरकारको बजेटबाट कालोपत्रेका लागि खहरे –वहाकी खण्डमा हालसम्म ३ करोड रकम खर्च भैसकेको छ । यस बर्ष सडक खण्डमा गत बर्ष मात्रै १ करोड २६ लाख मा ठेक्का सम्झौता भएको छ । उक्त रकमबाट खहरेखोला देखि झण्डै एक किलोमिटर सडकको कालोपत्रे हुनेछ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा चिसापानी देखि हुवास हु्ँदै वहाकीभञ्ज्याङ सम्म कालोपत्रेको लागि काम भैरहेको छ । १५ किलोमिटर सडकमा कालोपत्रेको काम पुर्वाधार बिकास कार्यालय पर्वत मार्फत भैरहेको छ । वहाकीभञ्ज्याङ देखि रानीपानीको नौनादी सम्म पनि प्रदेश सरकारले कालोपत्रेका लागि बजेट बिनियोजन गर्ने तयारी गरिरहेको छ ।
विहादी गाउँपालिका वडा न २ वडा कार्यालयको आयोजनामा भएको कालोपत्रे कार्यको शुरुवात गर्दै सांसद गिरीले जिल्लाको दक्षिणी क्षेत्र क्रमशः सम्बृद्ध बन्दै गएको बताउँदै विकटको वस्ती मानेर तराई झर्ने र बजार जानेहरु अव गाउँ फर्कन आग्रह गर्नुभयो ।
कालोपत्रे सडक, औद्योगिक ग्राम, विद्यालयको पुर्ननिर्माण र पालिका स्तरीय अस्पताल निर्माणको काममा विहादी गाउँपालिकामा भैरहेको बताउँदै उहाँले बिकास गाउँमा आउने र जनता बाहिर जाने काम अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो । यस बर्ष सडकमा कालोपत्रेको शुरुवात गरिएको र आगामी बर्ष सडकको सवै खण्ड पुरा हुने गरी बजेटको ब्यवस्थापन गरिने सांसद गिरीले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमल भु्षालले संघ, प्रदेश र स्थानीय तहका साझेदारीमा विहादी गाउँपालिका भित्रमा देखिने गरी विकास आयोजनाहरुको शुरुवात भएको गर्नुभयो । उहाँले केही बर्षभित्रै विहादीमा भौतिक पूर्वाधारका कामहरुले काँचुली फर्ने दावी गरे । जनताका आधारभुत आवश्यकताहरु पुरा गर्न स्थानीय सरकार सधै तयार रहेको अध्यक्ष भुषालको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कमिटि सदस्य गोविन्दप्रसाद पराजुली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द पौडेल , वडाअध्यक्ष ओमप्रसाद कुँवर लगायतले बोल्नुभएको थियो ।









