२ कार्तिक
पर्वत । पर्वतको कुश्मा नगरपालिका-९ कटुवाचौपारीको आफ्नै भवन बन्ने भएको छ । कटुवाचौपारीको बिबिसी चोकमा आधुनिक भवन बन्ने भएको हो । भवनको हिजो शिलान्यास गरिएको छ । भवनको कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले शिलान्यास गर्नुभएको हो ।
भवन नहुँदा वडा कार्यालय भाडामा संचालन हुँदै आएको थियो । भवनको शिलान्यास कार्यक्रममा बोल्दै मेयर जोशीले आफु बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढेको बताउनु भयो । कुश्मा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखि धमाधम काम गरेको उल्लेख गदै मेयर जोशीले समग्र नगरबासीको हितको लागि बृहत्त योजना बनाएर विकास निर्माण सँगै जनतालाई सेवा पुर्‍याउन लागि परेको उल्लेख गर्नुभयो । गुणस्तरिय सेवा प्रवाहका लागि सुविधासम्पन्न कार्यालय अपरिहार्य हुने बताउँदै उहाँले सोही बमोजिम नगरपालिकाले वडा कार्यालयहरु निर्माणको कामलाई जोड दिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले नगरको विकासका लागि दलगत स्वार्थ त्यागेर अगाडि बढ्नुपर्ने धारण राख्नुभयो ।
कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले जनतालाई सहज रुपमा सेवा प्रदान गर्न वडा कार्यालयको भवन निर्माण गरिएको बताउनु भयो । कटुवाचौपारीको मध्यभागमा निर्माणधिन वडा कार्यालयको भवनले वडाबासीलाई सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने वताउनु भयो । कार्यक्रममा कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी, कुश्मा नगरपालिका(१० पीपलटारीका वडा अध्यक्ष सुजन विक, नेकपा कटुवाचौपारीका अध्यक्ष सुरेश पिसी, नेपाली काँग्रेस कटुवाचौपारीका सभापति पितम्वर शर्मा अधिकारी, समाजसेवी कमलप्रसाद लामिछाने,घनश्याम लामिछाने र जग्गादाता डण्डपाणि शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जग्गा प्रदान गर्ने जग्गादातालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वडा अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत वडा सदस्य बिन्दुकुमारी पौडेल र कार्यक्रमको संचालन वडा सचिव टेकप्रसाद भुषालले गर्नुभएको थियो ।
शहरी विकास डिभिजन कार्यालयको १ करोड ५० लाख लागतमा सहयोगमा भवन बन्न लागेको हो । दुई रोपनी ३ आना जग्गामा आधुनिक मिटिङ हल सहित भवन बन्न लागेका हो । भवनको निर्माणको जिम्मा आचार्य विल्डर्स प्रालि बागलुङले लिएको छ ।