२३ असोज
काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमणको दर बढिरहेको बेला अस्पतालहरूमा संक्रमितको उपचारका लागि आइसियू र भेन्टिलेटर अभाव हुन थालेको छ।
संक्रमितहरूको उपचार गरिरहेका अधिकांश अस्पतालहरूको आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन्। सबैजसो अस्पतालहरूले नयाँ बिरामीलाई आइसियूमा राख्ने ठाउँ नभएको बताएका छन्।
महाराजगंजस्थित टिचिङ अस्पतालमा रहेको १६ बेडको आइसियू बेड भरिएको छ। अस्पतालमा अहिले १६ जना संक्रमितहरूको आइसियूमा उपचार भइरहेको छ। जसमा ४ जना भेन्टिलेटरमा छन्।
अस्पतालका कोभिड सदस्य डा. सविन थपलिया भन्छन्, ‘अब आइसियू बेड खाली छैन। हिजो एक जनाको मृत्यु भएकाले त्यहीँ एउटा खाली छ।’
डा. थपलियाका अनुसार अहिले अस्पतालमा १ सय ६ जना संक्रमितको उपचार भइरहेको छ। उनले अहिले कुनै पनि नयाँ संक्रमितलाई तुरून्त आइसियूमा भर्ना गर्नु परे बेड नै नभएको बताए।
उनले भने, ‘आइसियूमा भर्ना गर्नुपर्ने बिरामी आए हामी स्वास्थ्य मन्त्रालयमा खबर गर्छौं र उहाँहरूले नै कतै आइसियू खाली छ भने मिलाइदिनुहुन्छ।’
अहिले उपत्यकाका सबैजसो अस्पतालमा आइसियूमा भर्ना गर्नुपर्ने संक्रमितलाई बेड अभाव हुँदा भर्ना गर्न सकिएको छैन। हिजोआज आइसियूमा भर्ना गर्नुपर्ने संक्रमितहरूलाई भर्ना गर्न अस्पतालहरूलाई हम्मेहम्मे परेको छ।
यस्तै सुरुदेखि नै कोभिड डेडिकेटेड अस्पतालको रुपमा रहेको बलम्बुस्थित एपिएफ अस्पतालमा पनि आइसियू बेड भरिएको अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालका अनुसार २० बेड आइसियू क्षमता रहेकोमा सबै बेड भरिएको छ।
उनले भने, ‘हाम्रोमा आइसियू बेड नै २० वटा हो र अहिले सबै भरिएका छन्। नयाँ बिरामीलाई भर्ना गर्नलाई बेड छैन।’
अहिले अस्पतालमा कुल २ सय ९ जना संक्रमितको उपचार भइरहेको छ। जसमा २० जना आइसियू र ५ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। डा. नेपालले पछिल्लो समय व्यक्ति लगायत अस्पतालबाट पनि आइसियू बेडका लागि फोन आउने गरेको जनाए।
‘अस्पतालहरूले आइसियू खाली छैन भनेर सोध्नुहुन्छ। हिजो पनि वीरबाट एकजनालाई ल्याएर आइसियूमा भर्ना गर्यौं। आज भने नयाँलाई लिन सकिएको छैन,’ डा. नेपाल भन्छन्, ‘अहिले हाम्रै वार्डमा उपचाररत सिरियस संक्रमितहरूलाई पनि आइसियू चाहिने हुन्छ। त्यसैले नयाँलाई भर्ना गर्न गाह्रो छ।’
कोरोना संक्रमितको सुरूदेखि नै उपचार गर्दै आएको टेकु अस्पतालमा पनि आइसियू भरिएको अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए। उनले भर्ना भएकाहरू डिस्चार्ज भएको अवस्थामा मात्र नयाँ संक्रमितलाई आइसियूमा भर्ना गर्न सकिने जनाए। अस्पतालमा २० बेडको आइसियू क्षमता छ।









