१८ असोज

लमजुङ । लमजुङको उदिपुरमा रात्री बस दुर्घटना भएको छ । शनिबार साँझ ७ः४५ बजे भएको बस दुर्घटनामा एक जनाको निधन हुनुका साथै तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुईको अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला सदरमुकाम बेसीशहरबाट यात्रु लिएर वीरगंज जादै गरेको ग १ ख ६५०१ नम्बरको यात्रु बाहक रात्री बस बेसीशहर नगरपालिका– १ उदिपुरमा दुर्घटना ग्रस्त भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेलुका ७ः४५ बजे दुर्घटनामा भएको हो । सो घट्नामा चार जना घाइते भएकोमा एक जनाको जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि लग्नासाथ चिकित्सकले मृत घोषित गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार मृतक २६ वर्षीय अर्जुन परियार हुन् । उनको ठेगाना खुलेको छैन ।

उद्दार गरिएका घाइते यात्रुहरू चार जनाको उपचारका लागि लमजुङ सामुदायिक अस्पतालमा पठाइएको उदिपुर स्थित अस्थाई प्रहरी बिटका इन्चार्ज प्रहरी हवल्दार दिपेन्द्रराज पन्तले बताए । उनका अनुसार बस सडकबाट करिब एक सय मिटर तल धान खेतमा खसेको थियो । उद्दार कार्य जारी रहेको छ र थप विवरण आउन बाँकी छ । बसका चालक सम्पर्क बाहिर रहेकाले यात्रुको संख्या कति थियो भन्ने एकिन हुन नसकेको प्रहरी हवल्दार पन्तले जानकारी दिए ।