१६ असोज
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको बताएका छन्। यस अघि उनले आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारेन्टिनमा बसेको जनाएका थिए। उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए। साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्।
ट्रम्पकी सल्लाहकार हिक्सलाई भने कोरोनाका केही लक्षण पनि देखिएको छ । ट्रम्पले हिक्सले कडा अनवरतरुपमा कडा परिश्रम गरेको भन्दै प्रशंसा पनि गरेका छन् । उसो त कोरोनाभाइरसको संक्रमण हुने ट्रम्प पहिलो राष्ट्र वा सरकार प्रमुख होइनन्। यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई पनि कोरोना संक्रमण भएको थियो। बेलायती प्रधानमन्त्री जोन्सनको अवस्था त यति जटिल बनेको थियो कि उनलाई केही घन्टासम्म आइसियुमा राखिएको थियो।









