२३ भदौं
पर्वत । जिल्ला अस्पताल पर्वतमा एक्सरे मेशिन बिग्रिएको लामो समय हुँदा पनि मर्मत हुन सकेको छैन । एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् । अस्पतालमा एक्सरे मेशिन बिग्रिएपछि सेवा लिन आउने बिरामी फर्काउन थालिएको छ । अस्पतालमा एक्सरे बिग्रिएको दुई हप्ता बितेको छ ।
अहिले सम्म बिग्रिएको एक्सरे मेशिन मर्मत हुन सकेको छैन । मेशिन बिग्रिएपछि विरामीलाई वाहिर पठाउने गरिएको छ । सबै सेवाले अस्पताल सुसज्जित भएको अस्पताल विकास समितिले प्रचार गरेपनि पुराना सामानहरु धमाधम बिग्रने समस्या देखिन थालेको छ । महामारीको बेला एक्सरे मेशिन बिग्रिँदा विरामीलाई वाहिर पठाउनु परिरहेको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । बिग्रिएको मेशिन मर्मतको प्रयास भैरहेको तर प्राविधिकलाई ल्याएर देखाउँदा पनि मर्मत हुन नसक्ने बताएपछि यत्तिकै थन्काउनुपरेको डा. देवकोटाले बताउनुभएको छ ।
आईसियूमा रहेको अर्को मेशिन जडान गरेर काम चलाउँन खोज्दा थ्रि फेज लाईन नहुँदा संभव नभएको पनि डा. देवकोटाले बताउनुभएको छ । थ्रि फेज लाईन जोड्ने प्रक्रिया अन्तिम चरणमा रहेको र केहि दिनमा मात्रै एक्सरे सेवा शुरु हुने पर्वत अस्पतालले जनाएको छ । विरामीहरु दिनदिनै एक्सरे सेवा नपाउँदा सास्ती भएको गुनासो गरेका छन् ।
थ्रि फेज लाईन जोड्न आवश्यक पर्ने सबै सामाग्री पर्वतमा पाउन मुस्किल हुँदा लाईन जोड्नै समस्या भएको देवकोटाले बताउनुभयो । नयाँ मेशिन ल्याउन आपुर्ती केन्द्रमा चिठि लेखेर पठाएको पनि अस्पताल प्रसासनले जनाएको छ ।









