२ भदौ
पोखरा । पोखरामा १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७६४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको नमुना परीक्षणमा २५ जना संक्रमित फेला परेका हुन् । सोमबार राति आएको रिपोर्टमा १७ जनामा संक्रमण देखिएको हो भने मंगलबार बिहान आएको रिपोर्टमा ८ जनालाई कोरोना संक्रमण देखिएको हो । तीमध्ये पोखराका मात्रै १५ जना छन् ।
बाँकी संक्रमितहरु बागलुङको बरेङ नगरपालिकाका २ जना, बागलुङ नगरपालिकाका १ जना, नवलपरासी बर्दघाटको कावासोतीका २ जना, विनय त्रिवेणीका १ जना, तनहुँको व्यास नगरपालिकाका २ जना रहेका छन् । त्यस्तै लमजुङको दोर्दी गाउँपालिकाका १ जना र स्याङजाको पुतलीबजारका १ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुने व्यक्तिहरुको संख्या १ हजार ५५० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।









