३२ साउन

पोखरामा १० जनांसहित आइतबार गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७१९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको २४ घण्टामा भएको नमुना परीक्षणमा १६ जना संक्रमित फेला परेका हुन् । तीमध्ये पोखराका मात्रै १० जना छन् । तनहुँका ५ जना र पर्वत जिल्ला बिहादी गाउँपालिका ५ का ३५ वर्षीय पुरुष रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा पोखरा महानगरपालिका वडा नं. ८ का ५१ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै वडा नं. ३२ की ८६ वर्षीया वृद्धा, वडा नं. २६ का ५३ वर्षीय पुरुष र वडा नं. २८ का ३८ वर्षीय पुरुषमा कोभिड–१९ संक्रमण देखा परेको छ । तनहुँ सदरमुकाम व्यास नगरपालिका वडा नं. १ का ९ वर्षीय बालक र ४० वर्षीय पुरुष छन् भने वर्ष १३ की बालिका र ३६ वर्षीया महिला पनि कोरोना संक्रमित बनेका छन् ।

त्यसैगरि पोखरा महानगरपालिका वडा नं. १६ मा २२ र ३० वर्षीय पुरुष तथा २२ र ५० वर्षीया महिला संक्रमित बनेका हुन् । पोखरा वडा नं. ५ की ३३ वर्षीया महिलामा पनि कोभिड–१९ पुष्टि भएको हो । तनहुँको भानु नगरपालिका वडा ४ का ३० वर्षीय पुरुष छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकीमा शनिबार २१ जनामा कोरोना संक्रमण देखा परेको थियो ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १ हजार ५२० पुगेको छ ।