२४ साउन

कोरोना भाइरसको प्रभाव देखिएका उद्योग/प्रतिस्ठानहरुले बन्दाबन्दी (लकडाउन) अवधिको बिमाशुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ सहित निजी क्षेत्रका प्रतिनिधि र बिमा क्षेत्रको नियामक बीमा समिति बीच भएको छलफलमा लकडाउन अवधिमा तिर्नुपर्ने बिमाशुल्क (प्रिमियम)मा छुट दिने सहमति भएको हो ।

कोरोनाका कारण उद्योग/व्यवसायमा परेको असर र त्यसले बिमाशुल्क तिर्ने क्षमतामा आएको ह्रासका पक्षमा नीजि क्षेत्रले आवाज उठाउँदै आएको थियो । निरन्तर निजी क्षेत्रको दबाबपछि बिमा समितिले शुक्रबार महासंसहित निजी क्षेत्रसँग छलफल गरेको हो ।

सहमति अनुसार उद्योग प्रतिष्ठानलाई बन्दाबन्दी अवधिको प्रीमियममा एक तिहाई छूट र थप आरएसडी÷एमडी र एसटीमा पनि एक तिहाई समायोजन गर्ने निर्णय गरेको छ। यी सबै प्रिमियमलाई एकीकृत गर्दा कुल बिमाशुल्कमा ४० प्रतिशत हिस्सा हुन जान्छ । नीजि क्षेत्रसँग गरेको सहमतिअनुसार बिमा समितिको सञ्चालक समितिले निर्णय गरेपछि निर्जीवन बिमा कम्पनीहरुका नाममा निर्देशन जारी गर्नेछ । निर्देशन जारी भएपछि बिमा कम्पनीहरुले यसअघि पुरा शुल्क लिएको भए दिनुपर्ने सुविधा हिसाब गरी फिर्ता दिने वा समायोजन गरी अर्को अवधिमा घटाउनुपर्नेछ ।