६ साउन
काठमाडौं । सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।

आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,’ खतिवडाले भने, ‘कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब यो साउन महिनाभरिको अवस्था हेर्छौं। त्यसपछि भदौमा थप निर्णय लिन्छौं।’

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ।

सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।

 केहिमा प्रतिबन्ध कायमै ?

तर सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।

शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

तर सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।

यस्तै यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला का यातायात भदौ १ गतेबाट खुला हुनेछ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।