५ साउन
नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा १८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ८४४ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ११ हजार ८६८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख १९ हजार ८७२ जनाको पिसिआर पद्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा २२ हजार २ सय २८ जना क्वारेन्टाइनमा छन् भने ५ हजार ९३६ जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ र संखुवासभामा सबै कोरोना संक्रमितहरु निको भएर घर फर्किएको डा. गौतमले जनाएका छन् ।