२८ असार
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर ह्वात्तै घट्न थालेको छ । केही दिनअगाडीसम्म दैनिक पाँच सयका दरले संक्रमित भेटिदै आएकोमा अहिले भने सो दर निक्कै तिव्र गतिमा घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो समय संक्रमितको संख्या दैनिक एक सय जनाको हाराहारीमा आउने थालेको हो । शनिवारमात्र देशभरबाट ७० जना नयाँ संक्रमित फेला परेका छन् । यद्यपी विगतको तुलनामा शनिवार पिसिआर परीक्षण पनि केवल ३ हजार ६४८ जनाको भएको छ । यसअघि भने करिव साढे चार हजारको परीक्षण हुदै आएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ पुगेको छ । कुल संक्रमित मध्ये निको हुनेको संख्या ५० दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । अहिले संक्रिय अर्थात कोरोना नै रहिरहेकाको संख्या भने ८ हजार २३९ जना रहेका छन् । उनिहरुको विभिन्न अस्पतालमा बनाइएको आइसोलेसनमा उपचार भईरहेको छ ।
हालसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५९९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म गरिएको पिसीआर परीक्षणमध्ये औसतमा प्रति सयमा ६ जनामा कोरोना देखिएको छ । आरडिटी भने सरकारले यो अवधिमा ३ लाख १२ हजार ४०२ जनामा गरेको थियो ।









