१९ असार
गुल्मीमा पहिरोले घर बगाउँदा १८ महिने बालकको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका–१ हस्तिचौरको मल्दीमा बिहीबार राति पहिरोले घर बगाउँदा वसन्त सारुका १८ महिने छोरा सिजन सारुको मृत्यु भएको हो ।

पहिरोकै कारण सोही ठाउँका अन्दाजी २७ वर्षीया ईश्वरी खत्रीकी सात वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता रहेको प्रहरीले जाएको छ । ईश्वरीसहित ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी केदारराज पन्तले जानकारी दिए ।

त्यस्तै मुसिकोट नगरपालिकामा पनि एक जना बेपत्ता भएका छन् । बिहीबार रातिदेखि परेको वर्षाले मुसिकोट नगरपालिका–२ मा आठ गोठ र २ घर बगाएको छ । घटनास्थलमा मुसिकोट प्रहरी चौकीबाट प्रहरी पुग्न थालेको डीएसपी पन्तलले बताए । पहिरोले इश्मामा २ घर बगाएको र मुसिकोटमा कम्तिमा ५ घर बगाएको जानकारी आएको उनले बताए ।