८ असार
काठमाडौं । केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस वर्ष जुन १२ (जेठ ३०) गते नेपालको पूर्वी भू–भाग हुँदै मनसुन भित्रिएको थियो । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै गम्भीर सावधानी अपनाउन आग्रह गरेको हो ।

केही स्थानहरुमा खोलाले बगाएर मानिसहरुको मृत्यु भएको छ । पहिरोले पुरेर मारेको छ ।

सफल विपद् व्यवस्थापन नहुँदा अप्ठेरो खेप्नुपरेको हो । महाशाखाले देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २  र प्रदेश १ का  एक,दुई स्थानमा भारी वर्षाको समेत संभावना  रहेको जनाएको छ।

जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने तथा ढल – पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा पनि निरन्तर वर्षा भइरहेको छ । केही स्थानहरुमा पानीको राम्रो निकास नभएकाले डुबानसमेत भएको छ । तराईमा पनि डुबान भएको छ ।

पहाडी क्षेत्रहरुमा सडक अवरुद्ध भएका छन् ।