/२४ जेठ

कैलाली । डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका–४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा -यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको केहीबेरमा नै मृत्यु भएको थियो ।

उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर आरडीटी नेगेटिभ आएको भन्दै अस्पतालले परिवारका सदस्यहरूलाई मृतकको शव बुझायो । आफन्तलाई पर्खिएको परिवारले शनिबार मोहना घाटमा अन्त्येष्टि गरे । त्यसको केही घण्टामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

धनगढी–४ का वडाध्यक्ष दीपक थापा भन्छन्, बिहान १० बजेतिर मोहनामा लागेर अन्त्येष्टि गरियो । अन्त्येष्टि गरेको केही घन्टापछि कोरोना संक्रमणको पुुष्टि भयो ।

संक्रमित महिलाको अन्त्येष्टिमा परिवारका सदस्यसहित २०/२२ जना सहभागी भएका थिए ।

प्रहरीले उनीहरूको खोजी थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी हिक्मत थापा भन्छन्, ‘केही मलामी सम्पर्कमा आएका छन्, केहीको खोजी भइरहेको छ ।’

परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न समन्वय भइरहेको पनि उनले जानकारी दिए ।