१० जेठ
पर्वत । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कमाण्ड पोष्ट तथा सुरक्षा समितिको बैठकले नाकाबाट जिल्ला प्रबेश गर्नेहरुको चेकजाँचलाई कडाई गर्ने रणनिती लिएको छ । भारत र तेस्रो मुलुकबाट आउनेलाई एकद्वार नितीका आधारमा जिल्लामा भित्र्याउने तयारी गरिएको छ ।
पर्वत जिल्लाका नाकाहरु डिमुवा, कार्किनेटा , हुवास, सेतीबेणी, पुर्तिघाट लगायतका नाकाहरुमा सुरक्षा ब्यबस्था सुदृढ गरिएको छ । जिल्लामा रहेका नेपाल प्रहरीका प्रहरी चौकीहरुमा आवश्यकता र मागका आधारमा थप सुरक्षा बल पठाइएको छ । कार्किनेटामा शसस्त्र प्रहरी बल समेत राखिएको छ भने बिहादी गाउँपालिका र इप्रका हुवासमा नेपाल प्रहरीको थप सुरक्षाबल पठाइएको छ ।
भारतबाट पर्वत फर्कनेहरुको संख्या पनि बढेको छ । भारतबाट घर फर्केकाहरुलाई ब्यवस्थापन गर्न नयाँ सुरक्षा रणनिती अबलम्बन गर्न थालिएको हो ।
जिल्लाका ग्रामीण क्षेत्रमा विदेशबाट फर्कनेहरु लुकीछिपी पस्ने र कोरोना परिक्षण नगराउने सम्भावना हुँदा संक्रमण फैलन नदिन नाकामा नै रोक्ने र चेकजाँचमा कडाई गर्ने रणनिती लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।
भारतमा लकडाउन खोकुलो भएपछि धेरै मानिस जिल्ला भित्रने भएका छन् । उनीहरुको ब्यवस्थापनका लागि स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरुको प्रयोग गरिनेछ । जिल्लामा ल्याउने बित्तिकै पिसिआर टेष्ट गर्ने र पोजेटिभ देखिएमा आइसोलेसनमा पठाउने तथा नेगेटिभ आएमा निष्चित समय होम क्वारेन्टाईनमा राख्ने रणनिती बनाइएको छ । बिदेशबाट फर्कनेहरुको ब्यबस्थापन र लगत संकलनका लागि सहज बनाउन जिल्ला प्रशासन कार्यालयले पर्वतका सातैवटा पालिकासंग बैठक सम्पन्न गरेर रणनिती बनाएको हो ।