३१ वैशाख

नेपालमा मंगलबार मात्रै ५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए। जसमध्ये ३९ जना पर्साका, ९ जना रुपन्देहीका, ८ जना कपिलवस्तुका र १ जना बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

पर्सामा थपिएका ३९ जना नयाँ संक्रमितमध्ये १४ जना पर्साकै छिपहरमाई गाउँपालिकाका हुन् भने बाँकी २५ जना वीरगञ्ज महानगरापालिकाका हुन्। पर्सामा भेटिएका कोराना भाइरस (कोभिड–१९) का ३९ संक्रमित मध्ये १४ बागलुङबाट आएको खुलेको छ ।

रोजगारीका लागि बागलुङ पुगेका उनीहरु लकडाउनका कारण समस्यामा परेपछि फर्किएका थिए ।प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार उनीहरु ४२  जनाको समूहमा वैशाख १३ गते बस चढेर बाग्लुङबाट पर्साको छिपहरमाई गाउँपालिका आएका हुन्।

बा ४ ख ५७९० नम्बरको बसमा उनीहरु १३ गते पर्सा पुगेका थिए । सचिव घिमिरेका अनुसार मंगलवार पुष्टि भएकामध्ये वीरगञ्ज महानगरपालिका–२, ३, ४, १६, १७ र १८ का छन् । १२ वर्षदेखि ५३ वर्ष उमेर समूहका संक्रमित छन् । ४० वर्षका ५ जना र बाँकी युवा छन् । बाराका १ जना विश्रामपुर गाउँपालिका निवासी रहेका उनले बताए ।

छिपहरमाई गाउँपालिकाका स्वास्थ्य संयोजक शम्भु साहले उनीहरु बाग्लुङबाट आएपछि ४२  जनालाई नै क्वारेन्टाइनमा राखिएको जानकारी दिए। साहका अनुसार बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै १ जनामा उच्च ज्वरो देखिएको थियो ।