७ चैत्र
पर्वत । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बैठक बिहीवार सम्पन्न भएको छ । वैठकले विभिन्न निर्णय गरेको छ । सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको बैठकले लेबी भुक्तानी गरेकालाई क्रियाशिल सदस्यता वितरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने, विपी स्मृति भवनका लागि सहयोग संकलन जारी राख्ने निर्णय गरेको छ भने शोक प्रस्ताव पारित गरेको छ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार १४ औँ महाधिबेशनलाई लक्षित गर्दै क्रियाशिल सदस्यता वितरण गर्ने नेपाली काँग्रेस पर्वत जिल्ला कार्यसमितिले निर्णय गरेको पार्टि सचिव अशोक उचै ठकुरीले जानकारी दिनुभयो ।

केन्द्रले २०७६ फागुन १३ गतेबाट क्रियाशिल सदस्यता वितरण शुरु गरेको छ । नेपाली काँग्रेस पर्वतले निर्माण गरिरहेको विपी स्मृति भवन निर्माणका लागि क्रियाशिल सदस्यबाट १ सय र नयाँ बाट २ सय रुपैयाँ सहयोग संकलन गर्ने वैठकले निर्णय गरेको ठकुरीले बताउनुभयो । क्रियाशिल सदस्यता १५ दिनभित्र पार्टि कार्यालयमा बुझाउन भनिएको छ । यस्तै विश्वव्यापी प्रभाव पारिरहेको कोरोना भाईरसको वारेमा गाउँ देखि वडा तहसम्म सचेतना फैलाउने काँग्रेसले निर्णय गरेको छ । पार्टि पंक्तिलाई जनताको घरदैलोमा पुगेर सचेतना फैलाउन बैठकले निर्देशन दिएको छ । पार्टिले पछिल्लो एक महिनाको अवधिमा निधन भएका पार्टिका विभिन्न तह र तप्कामा रहेका व्याक्तित्वलाई श्रद्दाञ्जली व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

आमन्त्रित जिल्ला सदस्य जीतबहादुर नेपालीकी आमा सुनिता नेपाली, निजामती कर्मचारी यूनियन संघका सदस्य तथा पूर्व गाविस सचिव होमबहादुर भण्डारी , विहादीका क्रियाशिल सदस्य डोलप्रसाद भुसाल, विहादीका क्रियाशिल सदस्य रमेशचन्द्र भट्टराई, कुश्मा ५ का क्रियाशिल सदस्य हरिप्रसाद शर्मा, फलेवास ३ का क्रियाशिल सदस्य लक्ष्मीप्रसाद तिवारी, पैयुँ गाउँपालिका ४ का प्रजातान्त्रिक सेनानी गुप्तप्रताप सेन, जलजला मल्लाजका धनवहादुर जिसी, महाशिला ५ का बेलकुमारी उचै ठकुरी, जलजला शालिजाका केशव चोचाङगी, कुश्मा नगरपालिका २ का थानेश्वर शर्मा प्रति पार्टिले श्रद्धाञ्जली अर्पण गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसलाई बलियो बनाउन र भावनात्मक रुपमा बलियो बनाउन सबै जनाको समान दायित्व रहेको उल्लेख गर्नुभयो । आगामी महाधिबेशनको तयारीमा रहेको बताउँदै जोशीले चौधौ महाधिबेशनले पार्टिलाई थप मजवुत र क्रियाशिल बनाउने विश्वास व्यक्त गर्नुभयो । तितामिठा सबै कुरा बिर्सिर संगठन बलियो बनाउने कुरामा केन्द्रित हुन कार्यक्रममा सहभागीहरुलाई जोशीले निर्देशन दिनुभयो ।

कार्यक्रममा पूर्व सभापती नवराज गुरुङले पार्टिभित्र रहेको गुटउपगुट जिल्लाको राजनीतिमा देखिन नहुने बताउनुभयो । पर्वतमा काँग्रेसहरु एकजुट भएमा कसैले पराजित गर्न नसक्ने भएकाले आफुहरु एक भएर केन्द्रलाई एक हुन दवाव दिनुपर्ने गुरुङले बताउनुभएको छ ।