५ चैत्र
पोखरा । अन्ततः प्रदेश सरकार गठनको २ वर्षपछि बल्ल गण्डकीका मुुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको विवरण अनुसार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग ५१ तोला सुन छ भने ९० तोला चाँदी छ । मुख्यमन्त्रीले सम्पत्ति विवरणमा भेँडीगोठमा रहेका नौ वटा भेँडा र सातवटा बाख्रा पनि समावेश गरेका छन् । सम्पत्ति विवरणमा उनले यसको स्रोत दाइजो, खरिद, पेवा र उपहारबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

उनको लमजुङको खिलुङ ९ कित्ता नं २८१ मा २०४५ सालमा किनेको घर सहितको जग्गा छ । आशकुमारी गुरुङको नाममा खिलुङमा नै २५९ कित्ता नं. मा एकतले २ वटा घर छन् । यस्तै, आशकुमारीकै नाममा खिलुङ ८ र ९ मा नै, ३६४, १४७, १५१, १८२, २१९ र १५९ कित्ता नं मा २९ रोपनी १४ आना ३ पैसा ३ दाम जग्गा छ । यो जग्गा अंशबन्डाबाट प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ । पृथ्वीसुब्बा गुरुङको नाममा खिलुङ ८ मा १३२, २७६, ३३८ र ४८७ कित्ता नं. मा १० रोपनी ३ आना २ दाम अंशबण्डाबाट पाएको उल्लेख छ ।