३ चैत्र
काठमाडौँ, बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेल थुनामा गएका छन्। विशेष अदालतले ललिता निवास जग्गा प्रकरणका एकजना अभियुक्त पौडेललाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी मुद्दा चलाएको थियो। उनीविरुद्ध ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग पनि अख्तियारले गरेको थियो। विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको संयुक्त इजलासले पौडेललाई थुनामा पठाउन आदेश दिएको हो।

ललिता निवास प्रकरणमा अदालत उपस्थित भएका पहिलो प्रतिवादी पौडेललाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए।