१ चैत्र
पर्वत । पर्वतमा गरिएको एपेन्डिसाइटिसको पहिलो शल्यक्रिया सफल भएको छ। पर्वत अस्पतालमा शुक्रबार २० वर्षीया एक युवतीमा देखा परेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएसँगै अब यस्तो समस्या देखापर्दा हजारौं रूपैयाँ रकम बोकेर पोखरालगायत देशका अन्य अस्पतालमा जानुपर्ने बाध्यता पनि अन्त्य भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्‌।

जिल्ला बाहिर एपेन्डिसाइटिसको उपचार गराउन जाँदा बिरामीहरूको कम्तिमा ४० हजार रूपैयाँ खर्च हुने गरेको छ। डा. विष्णु भण्डारी नेतृत्वको चिकित्सकीय टोलीले निकै सहज तरिकाले जिल्लामै पहिलोपटक ‘क्रोनिक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए। ‘बिरामीमा इन्फेक्सन सुरु भएर पिप जम्मा भइसकेको थियो, छिट्टै प्वाल पर्ने अवस्था थियो, उपचारको लागि पोखरा लैजाने प्रयास गरेको भए झन्डै साढे २ घण्टा लामो बाटोमा जे पनि हुन सक्थ्यो,’ उनले भने, ‘पर्वतमा यस्तो शल्यक्रिया पहिलोपटक भएको हो, तर डा. भण्डारीले यसअघि पनि यस्ता शल्यक्रिया धेरैपटक गरिसक्नुभएकाले बिरामीलाई यहीँ जोगाउन सकियो।
शल्यक्रियामा डा. विष्णु भण्डारीको नेतृत्वमा डा. शिशिर देवकोटा, डा. सागर बराल, डा. सन्तोषी थपलिया, डा. सतिश बास्तोला र डा. सुरज नेपाली लगायतको टोली खटिएको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सात हजार रुपैयाँमा नै एपेन्डीसाइटीसको शल्यक्रिया गर्ने भनेर रेट तोकिसकिएका कारण बिरामीहरूले ठूला सहरमा गएर उपचार खोज्दा तिर्नुपर्ने महँगो रकम तिर्नु नपर्ने बताए। ‘यही कुस्माकै मान्छेलाई एपेन्डीसाइटीस भयो भने पोखरा पुगेर निजी अस्पतालमा सबै काम सक्दा झन्डै ५० हजार रूपैयाँजति खर्च हुन आउँछ,’ उनले भने, ‘साढे दुई घण्टा टाढाको पोखरा सहरमा त्यति महँगो उपचार छ, तर पर्वत अस्पतालमा ७ हजार रुपैयाँमा बिरामीले अब एपेन्डिसाइटिसको शल्यक्रिया उपचार पाउने भएका छन्‌।

शल्यक्रियामा संलग्न डा. विष्णु भण्डारीले पर्वतमा एपेन्डीसाइटीसको शल्यक्रिया सहजै रूपमा गर्न सकिने अवस्था रहेकोले यस क्षेत्रका बिरामीहरूलाई अब अन्यत्र लैजानु नपर्ने बताए। लामो सडक यात्राबाट शल्यक्रियाका लागि पोखरा पठाउँदा एपेन्डीसाईटीस फुलेर फुट्न सक्ने र त्यसबाट बिरामीको ज्यानै जान सक्ने भएकाले त्यो जोखिम मोल्नुभन्दा पर्वत अस्पतालमा नै सुरक्षित शल्यक्रिया गराउनु उत्तम हुने उनको भनाई छ। मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले एपेन्डीसाइटीसको शल्यक्रिया पर्वतमा यस अगाडि नभएका कारण पनि सुरु सुरुमा बिरामी र बिरामीका आफन्तहरूले आफूहरूलाई विश्वास नगर्न सक्ने बताउँछन्। ‘ती युवतीको शल्यक्रियाको विषयमा पनि हामीले धेरैबेर सम्झाउनुपरेको थियो, पोखरा पठाउँदा बाटैमा जेपनि हुने अवस्था थियो, यहीँ गरिएको शल्यक्रियाले प्राण बच्यो,’ उनले भने, ‘अब बिस्तारै बिरामीहरूले बुझ्नुहुनेछ, महँगो रकम तिर्न पोखरा जानुपर्ने छैन, हामी सेवाका लागि आएका हौँ, सेवा गर्छौं।’ पर्वत अस्पतालमा यस अगाडि हाइड्रोशील, हर्निया र सी.एस.शल्यक्रिया सुरू गरिएको थियो।

केही महिनासम्म राम्रोसँग चलेका भए पनि यी शल्यक्रियाहरू कहिले डक्टर त कहिले एनेस्थेसिया अभावमा रोकिँदै आएका थिए। अस्पतालमा सधैँजसो उपलब्ध हुने सामान्य खालको शल्यक्रियाका रूपमा लिइने सीएस अर्थात् बच्चा जन्माउनको लागि गरिने सामान्य शल्यक्रिया समेत बेलाबेलामा रोकिने गरेको भए पनि अहिले भने २४ सै घण्टा सुचारू भएको छ। थाहाखवरवाट