२२ फागुन
अजय लामिछाने,पर्वत। पर्वतको कुश्मा नगरपालिकामा न्यायिक समिति गठन भएको छ । स्थानिय निर्वाचन भएको ३ वर्ष पछि कूश्मा नगरपालिकाले न्यायिक समिति गठन गरेको हो । न्यायिक समिति गठन गर्ने विषयमा नगर सदस्यहरुका विचमा दलगत कूरा नमिल्दा रोकिएको थियो । राजनैतिक स्वार्थले गठन नभएको न्यायिक समिति पाचौ नगर सभाले सर्वसम्वत गठन गरेको हो । कूश्मा नगरकी उपप्रमुख सिता काफ्ले लामिछानेले आज पत्रकार सम्मेलन गरि न्यायिक समिति गठन भएकोमा नगर सदस्य हरुलाई धन्यवाद दिदै नगरवासिहरुलाई निष्पक्ष रुपमा न्याय सम्पादन गर्ने बताउनुभएको छ ।

तीन वर्ष पछि गठन भएको न्यायिक समितिले अहिलेसम्म थाति रहेका र आगामी दिनमा पनि आउने उजुरीहरुमा यो पक्ष र उ पक्ष नभनीकन न्यायको भूमिका निभाउने बताउनुभयो ।
उहाँले संविधानले नै व्यवस्था गरेको न्यायिक समिति लामो समय सम्म नबन्नु दुःखद भएको बताउँदै ढिलै भएपनि गठन भएको र अबको दुई वर्ष नगरवासीहरुका हरेक समस्याहरुलाई निष्पक्ष रुपमा समाधान गर्न पहल गर्ने बताउनुभयो । उहाँले हामी निर्वाचनको वेला एउटा दल वाट निर्वाचित भए पनि न्याय सम्पादन गर्दा जुनसुकै घटनामा पनि पक्ष विपक्षलाई अन्याय नहुने किसीमले किनारा लगाउने प्रतिवद्धता गर्नुभयो ।
बुधवार सम्पन्न पाँचौ नगर सभाले न्यायिक समितिलाई पुर्णता दिएको थियो । न्यायिक समितिमा नेकपावाट निर्वाचित तेजप्रसाद पाध्या र देवेन्द्र नेपाली रहनुभएको छ ।

कार्यक्रममा समितिका सदस्य तेजप्रसाद पाध्याले नगरवासीहरुलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष भएर न्यायिक सेवा प्रदान गरिने प्रतिवद्धता जनाउनुभयो ।
पर्वतका कानून व्यावसायि अधिवक्ता रामचन्द्र शर्माले उच्च अदालतमा न्यायिक समिति गठन गर्न माग गर्दै रिट हालेपछि लामो समयदेखि अल्झिएको गाँठो फुस्कीएको हो । पत्रकार सम्मेलनमा अधिवक्ता शर्माले संविधानले नै उल्लेख गरेको न्यायिक समिति लामो समय नबन्दा संघीयता र संविधानमाथिनै प्रश्न उठ्ने देखेपछि आफु अदालत गएको बताउनुभयो । आफुले रिट हालेपछि समितिले पुर्णता पाएको खुसी व्यक्त गर्दै नगरवासीहरुले आवश्यक सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
कूश्मा नगरमा न्यायिक समितिमा विधिवत रुपमा निवेदन दर्ता नगरिए पनि धेरै निवेदनहरु आएको कूरा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । अव विधिवत रुपमा आएका निवेदनहरु दर्ता गरि आवश्यक प्रकृया पूरा गरि कार्यसम्पदान गर्ने न्यायिक समितिका संयोजक लामिछानेले जानकारी गराउनू भयो ।