काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपण शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको प्रत्यारोपण शल्यक्रिया बुधबार दिउँसो तीन बजेतिर सम्पन्न भएको हो ।

चार घण्टा ४५ मिनेट लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । प्राध्यापक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

प्रत्यारोपणको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले पाँच सय एमएल पिसाब गरेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजेर पाँच मिनेटमा अप्रेशन थिएटरमा छिराइएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्काले जानकारी दिए ।

मंगलबार बेलुकादेखि नै प्रत्यारोपणका लागि लागि आवश्यक औषधि दिन सुरु गरिएको थियो । ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी छिन् । प्रधानमन्त्री ओलीलाई १२ वर्ष पहिले मिर्गौला प्रदान गर्ने अन्जना घिमिरेकी भान्जी हुन् समीक्षा ।