२१ फागुन
पर्वत । बिहान १० बजे कार्यालय समय शुरु हुने बित्तिकै जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय गान बज्छ । राष्ट्रिय गानको धुनमा सबै कर्मचारी उठ्छन र कामकाज शुरु हुन्छ ।
राष्ट्रिय गानको शुरुवातबाट कार्यालयको कामकाज शुरु गर्ने मात्रै होइन सबै कर्मचारीको ढोका र कोटमा नेमप्लेट झुण्ड्याइएको छ ।
राष्ट्रियगानबाट कार्यालयको काम थाल्ने सहित कार्यालय सहयोगी देखि सिडीयो सम्मको कोटमा नेम प्लेट झुण्ड्याउने मात्रै होइन जिल्ला प्रशासन कार्यालय पर्वतले गएको साउन देखि फागुन महिना सम्म २२ वटा सृजनशिल काम सम्पन्न गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार पत्रकार सम्मेलन गरेर ७ महिनामा भएका सृजनशिल कामको जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले यस बिचमा कार्यालयका नियमित काम बाहेक सेवाग्राही मैत्री र प्रशासन सेवालाई अझै ब्यबस्थित बनाउन सुधारका काम भएको बताउनुभयो । ‘नियमित कार्य सम्पादन संगै धेरै रचनात्मक कामहरु पनि गरिएका छन’ उहाँले भन्नुभयो ‘प्रशासनिक नेतृत्व, बिकास आयोजनाको प्रभाबकारितलाई यस बिचमा बढी ध्यान दिएका छौ’
जिल्ला प्रशासन कार्यालय पर्वतले सरकारी निकायलाई जवाफदेही र सुशासनमैत्री बनाउने अभियानमा लागेको जानकारी दिएको छ । कार्यालयले वेवसाइडमा नागरिकलाई आवश्यक पर्ने सवै खालका सुचना र सन्देश सरल रुपमा राख्न सुरु गरेको छ । कार्यालयमा आउने सेवाग्राहीलाई आबश्यक परेका बिबरण झिकाउन सहयोग पु-याउन फ्रि वाईफाईको समेत ब्यबस्था गरिएको छ । पुराना नागरिकता फारमको ब्यबस्थापनलाई निरन्तरता दिने, गुनासो फारम भर्ने, संघ संस्थाको बिबरण अध्याबधिक गर्नै, पुस्तकालयको ब्यबस्था, टेलिभिजन लगायतको ब्यबस्था मिलाइएको छ ।
कार्यालयको दिएको जानकारी अनुसार मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर लोकमार्ग, कालीगण्डकी प्रसारण करिडोर, नयाँ मोदी लेखनाथ प्रसारण लाईन, जलबिद्युत आयोजनाहरुमा देखिएका समस्या समाधान गर्ने काम गरेको प्रजिअ नेपालले बताउनुभयो । उहाँले कार्यालयले ९८ प्रतिशत बेरुजु फस्र्योट गरेको पनि जानकारी दिनुभयो ।