१० फागुन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताएका छन् । इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज यहाँ आयोजित ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उनले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताएका हुन्। “इतिहासको कदर र वीरताको योगदानको कदर गर्नुपर्छ,”–उनले भने ।
प्रधानमन्त्री ओलीले काजी कालु पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । साहसी, दुरदर्शी र प्रेरणा दिनसक्ने व्यक्ति कालु पाँडे भएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्र दहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिए । महोत्सवसँगै दहचोकको स्वरुप फेरिन थालेको उनको भनाइ थियो ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दहचोक महोत्सवको निरन्तरताका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले वाग्मती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गरे ।









