२९ साउन
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले सामाजिक र राजनीतिक क्षेत्रमा संविधानले नै महिलाहरुको नेतृत्व सुनिश्चित गरेकोले विकासका हरेक क्रियाकलापहरुमा महिलाहरु आफैले सक्रियता र सहभागिता बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ । धौलागिरी बहुउद्देश्यीय महिला विकास समिति कुश्मा पर्वतले कुनपा–९, कटुवाचौपारीस्थित अलपेश्वर गुफामा वुधवार विहान आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको हो ।
झण्डै १८ बर्षसम्म जनप्रतिनिधि भएर जिल्लाको बाटो, विजुली, सडक र अन्य पूर्वाधारमा ठूलो योगदान गरेका पूर्व सांसद जोशीले आफू अहिले सांसद नभएपनि विकासमा आफ्नो सहभागिता र सक्रियता निरन्तर जारी रहेको वताउनु भएको थियो । काँग्रेस नेता जोशीले महिलाहरुले नेतृत्वमा भएका विकासका पूर्वाधारहरु दिगो र पारदर्शी हुने गरेको उल्लेख गर्दै सामुदायिक विकास र राजनीतिक क्षेत्रमा समेत महिलाहरुको बढि सक्रियताको लागि जोड दिनुभयो । उहाँले महिलाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि शिक्षा, चेतना र आयआर्जन तिन कुराहरु आवस्यक रहेको भन्दै यी तीनै कुरामा हस्तक्षेपकारी भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो ।
नेता जोशीले अलपेश्वर गुफा आफैमा अलौकिक र धार्मिक पर्यटनका दृष्टिकोणले निकै महत्वपूर्ण गुफा भएको दावी गर्दै यसको प्रचारप्रसार गर्न सके राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रबाट धार्मिक पर्यटकहरु पर्वत आउने र सिंगो पर्वतको समृद्धिमा टेवा पुग्ने दावी गर्नुभयो । उहाँले गुफाको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक शिब शर्मा अधिकारीले धेरै पछि पत्ता लागेको अलपेश्वर गुफा मुलुककै अलौकिक र सुन्दर भएको दावी गर्दै यसको दिगो विकास र प्रचारप्रसारका लागि कटुवाचौपारीबासीले आफै सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष अधिकारीले धार्मिक पर्यटनको बलियो सम्भावना बोकेको अलपेश्वर गुफा कटुवाचौपारीबासीकै गौरव र पहिचानको माध्यम भएको उल्लेख गर्दै गुफाको विकासका लागि सबैको सक्रियता र सहभागिता आवस्यक रहेको वताउनु भयो ।
कार्यक्रममा धौलागिरी बहुउद्देश्यीय महिला विकास समितिका अध्यक्ष लक्ष्मी अधिकारीले अलपेश्वर गुफाको विकास गर्नसके नगरबासीको समृद्धिमा टेवा पुग्ने दावी गर्दै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर सामुहिक विकासमा जुट्न सबैलाई आग्रह गर्नुभयो । अध्यक्ष अधिकारीले गुफाको विकासका लागि आफ्नो तर्फबाट १० हजार रुपैयाँ सहयोग समेत गर्नुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ९ कटुवाचौपारीका वडाअध्यक्ष कृष्णप्रसाद लामिछाने, अलपेश्वर गुफा संरक्षण पर्यटकीय केन्द्रका अध्यक्ष सुरेशबहादुर पिसी र धौलागिरी बहुउद्देश्यीय महिला विकास समितिका संस्थापक अध्यक्ष सरस्वती शर्मा जिज्ञाशुले लगायतले बोल्नुभएको थियो ।
धौलागिरी बहुउद्देश्यीय महिला विकास समितिका अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य विन्दु शर्मा र कार्यक्रमको संचालन धौलागिरी बहुउद्देश्यीय महिला विकास समितिका सचिव लक्ष्मी पौडेलले गर्नुभएको थियो । कार्यक्रममा गुफा परिसरमा सरसफाई र वृक्षारोपण, ज्येष्ठ नागरिकहरुलाई सम्मान र असहाय व्यक्तिलाई सहयोग हस्तान्तरण गरिएको थियो ।









