२७ साउन
बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका छन् ।

प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिएका छन् । जनप्रतिनिधिले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् । ‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन’, रोल्पाका एक जनप्रतिनिधिले भने, ‘यही गाउँमा बस्नु छ । हुँदैन, गर्न सकिँदैन भन्ने अवस्था छैन ।’

जनप्रतिनिधिको समस्या मात्रै होइन यो, ठेकेदार, शिक्षक, प्राध्यापकको पनि हो । रोल्पाका तत्कालीन नेकपा माओवादी केन्द्रनिकट प्राध्यानाध्यापकलाई गत वर्ष ५र५ लाख रुपैयाँ चन्दा दिनुपर्ने माग भयो । त्यसले उनीहरूको भागाभाग मच्चिएको थियो । त्यो क्रम अझै रोकिएको छैन ।

चन्दा नदिएको भन्दै विप्लव कार्यकर्ताले रूपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरी, प्युठानको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकाया र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई मोसो दले । ‘एक साताअघि आर्थिक सहयोग गर्नु हुन भनेर चिठी प्राप्त भएको छ’, स्वर्गद्वारीका मेयर रोकायाले भने, ‘यसअघि हाम्रो कब्जामा छस् भनेर धम्की दिए । अहिले सहयोग मागेका छन् ।’

यसअघि पनि उनीहरूले कामकारबाही नसच्चिए कठोर कदम चाल्ने धम्की विज्ञप्तिमार्फत दिएका थिए । जनप्रतिनिधिले जनभावनाविपरीत काम गरेको आरोप विप्लव पक्षले लगाएको छ । उक्त पार्टीले जिल्लाका नौवटै स्थानीय तहमा सहयोगका लागि पत्र पठाएको छ । ‘सहयोगका लागि पत्र हात परेको छ’, माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका मगरले भने, ‘यो विषयमा थप निर्णय गरेका छैनौं ।’

दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा आइतबार आगजनी भयो । विप्लवका यस्ता गतिविधि बढ्ने आशंका स्थानीयले गरेका छन् । उक्त गाउँपालिका प्युठानको माण्डवी गाउँपालिकासँग जोडिएको क्षेत्र हो । अन्न्पूर्णपोष्ट वाट