२२ साउन

पोखरा । पोखरामा एकै दिन यौन व्यवसायमा संलग्न १७ जना पक्राउ परेका छन् । सोमबार पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने मध्ये १० जना महिला र ७ जना पुरुष रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये १० जना महिला र ५ जना पुरुषले ग्राहकलाई सम्पर्क गर्ने, मोलमोलाइ गर्ने गरेको पाइएको छ । अन्य २ जना पुरुष भने होटल संचालक रहेको कार्कीले बताए । लेकसाइडबाट पक्राउ परेको भएपनि उनीहरुलाई फरकफरक होटलबाट समातिएको हो ।

‘गोप्य सूचना र निगरानीको आधारमा पक्राउ गरिएको हो, उनले भने, ‘२,३ ठाउँबाट नियन्त्रणमा लिएका छौं ।’ उनीहरु सबै २० देखि ३० वर्ष उमेर समूह भित्रका छन् । यसबाहेक केही नाबालिका पनि पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर उनीहरुलाई त्यहाँ पुर्याइएको खुलेको छ । उनीहरु सबै कास्की जिल्ला बाहिर गोरखा, धादिङ लगायतका जिल्लाका छन् ।

२ जना पुरुष होटल संचालक भने पहिले पनि पक्राउ परेर छुटेको पाइएको छ । पक्राउ परेकाहरुलाई मानव बेचबिखनअन्र्तत मुद्धा चलाइने प्रहरीले जनाएको छ । जहाँबाट उनीहरु पक्राउ परेका छन् ती होटलहरु बिना दर्ता संचालनमा रहेको र यौन व्यवसाय हुने गरेको प्रहरी बताउँछ ।

अवैध रुपमा भैरहेका यस्ता क्रियाकलाप नियन्त्रणमा लिन आफू नेतृत्वको प्रहरी प्रशासन क्रियाशील रहेको कार्कीले बताए । पोखराबाट समयसमयमा यौन व्यवसायमा संलग्नहरु पक्राउ परिरहेका हुन्छन् । गण्डकी प्रदेश सरकार नै व्यवस्थित रेडलाइट एरिया बनाउने पक्षमा छ ।