१६ असार

फलेबास, पर्वत । पर्वतको फलेबास नगरपालिकाको वडा नं ४ सिर्सुमा धान दिवस मनाइएको छ । फलेबास नगरपालिका र कृषिज्ञान केन्द्र पर्वतको आयोजनामा सामुहिक रोपाई गरेर धान दिवस मनाइएको हो ।
गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न रोपाई कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले पावर टेलर र हलो जोत्नुभयो भने अन्य अतिथि देखि सहभागीहरुले नौमती बाजाको तालमा छुपुछुपु धान रोपाई गरे ।

हलो जोत्दै पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे  नेपाल । गाउँघरमा अहिले पनि महिलाले हलो जोत्नु हुँदैन भन्ने मान्यता छ । मन्त्री गुरुङ्गलाई संबिधानसभा सदस्य कल्पना चापागाई, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल देखि कृषि ज्ञानकेन्द्रका प्रमुख बासुदेब रेग्मी, पार्टीका नेताहरु, सुरक्षाकर्मी देखि स्थानिय कृषकहरुले साथ दिएका थिए ।

प्रजिअ नेपालले त महिलाले हलो जोत्नु हुन्न भन्ने मान्यतालाई नै चुनौती दिदै हलो जोत्नुभयो । लामो समय सम्म कृषक संग खेतमै रमाउनुभएका मन्त्री गुरुङ्ग परम्परागत खेतीले मुलुकको आवश्यकता पुरा हुन नसक्ने बताउनुभयो । उहाँले उन्नत प्रबृधि र नष्लको प्रयोग गरेर ब्यबसायिक रुपमा खेती गर्दै आयतलाई प्रतिष्थापन गर्नुपर्छ भन्नुभयो । ‘अब परम्परागत रुपमा गरिने खेतीले हाम्रो आवश्यकता पुरा हुन सक्दैन’ उहाँले भन्नुभयो ‘कृषिमा प्रबिधी र ब्यबसायिकता बिकास गर्नु अहिलेको प्रमुख कार्यभार हो’ ठुला र ब्यबसायिक फर्म ,पशुपालनका क्षेत्रमा अनुदान दिने कार्यक्रम भैरहेको उहाँले बताउनुभयो ।

फलेबास नगरपालिका प्रमुख पदमपाणी शर्माले नगरपालिकाले कृषिमा आत्मनिर्भर बन्ने योजना र बजेटको ब्यबस्था गरेको बताउनुभयो । उहाँले धान उत्पादनप्रति कृषकहरुलाई उत्प्रेरित गर्न हरेक बर्ष नगरपालिकाले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनुभयो । कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मीले धान उत्पादनलाई दोब्बर बनाउनका आधुनिक प्रबृधि, मल र उन्नत जात लगाउन आवश्यक भएको बताउँदै पर्वत जिल्लामा पनि बर्षेनी धान उत्पादन घट्दै गएका कारण यसलाई बढाउनका लागि हरेक क्षेत्रले सहयोग गर्नुपर्छ भन्नुभयो । कार्यक्रमलाई कामना सेवा बिकास बैंकले प्रायोजन समेत गरेको थियो ।