३० जेठ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले ठूलो परिमाणमा अबैध रुपमा उत्पादन गरिएको घरेलु मदीरा नष्ट गरेको छ । बिहीबार बिहान पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका वडा नं. ४, ५ र ६ मा छापा मारेर बरामद गरिएको १६ सय ५० लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही मात्रामा तयारी अवस्थामा रहेको मदिरा र बढी मात्रामा मदीरा बनाउनका लागि मर्चा प्रयोग गरेर कुहाइएको अवस्थामा राखिएको तरल पर्दार्थ सहितको लेदो बरामद गरिएको हो । प्रहरीले बिहीबार बिहानै बजारमा छापा मारेर घरेलु मदिरा बनाउन प्रयोग गरिने ५५ ड्रम तरल पदार्थ सहित मदिरा उत्पादन गर्न प्रयोग गरिने भाँडाहरु पनि नियन्त्रणमा लिएको हो ।

यस अगाडि पनि पटक पटक पनि घरेलु मदिरा उत्पादन नगर्न अनुरोध गर्दै कुश्मा बजार सहित दोबिल्ला, डिमुवा, पातिचौर, छमर्के लगायतका ठाउँमा छापा मारेर घरेलु मदिरा नष्ट गरिएको भएपनि अबैध रुपमा मदीरा उत्पादन गर्ने क्रम नरोकिएपछि छापा हानेर नै पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । पक्राउ गरीएको मदीराजन्य पदार्थलाई बिहीबार साँझ जनप्रतिनिधि र पत्रकारको रोहबरमा नष्ट गरिएको छ ।

पक्राउ गरेको मदीराजन्य पदार्थमा अखाद्य बस्तुहरु प्रशस्त मात्रामा रहेको पाइएको छ । मदीरा तयार गर्नका लागि मर्चा हालेर राखीएका ड्रमहरुमा पुराना कपडा, कुहिएको चाउमिन लगायतका खाद्य बस्तु राखेको र तिनीहरुमा किरा पर्नुका साथै मुसा समेत मरेको भेटीएको छ । समाजमा शान्ति सुरक्षा कायम राख्नमा अबैध रुपमा उत्पादन गरिने मदीरा पनि एक प्रमुख कारण रहेको भन्दै पर्वत प्रहरीले बिभिन्न समयमा घरेलु मदीरा बरामद गरेर नष्ट गर्दै आइरहेको छ ।

प्रहरीले जति नै मदीरा नष्ट गरेपनि उत्पादन कर्ताहरुले अबैध रुपमा यसको उत्पादन कायमै राखिरहेका छन । कतिपय भने स्थानीय तहले घरेलु मदिरा उत्पादकहरुलाई पनि दर्ता प्रक्रियामा लगेर अखाख् बस्तुको प्रयोग नगरीकन मदीरा उत्पादन गर्न दिनुपर्ने पनि बताउँदै आएका छन । मदीरा उत्पादकहरुले पनि आपूmहरुको रोजीरोटीको आधार नै मदिरा उत्पादन भएको भन्दै प्रहरीले गरेको कामको बिरोध गर्दै आएका छन् । यद्यपी प्रहरीले भने कसको माग र समस्या के छ भन्दा पनि ऐन र कानुनले बर्जित गरेका कामहरु कुनै पनि हालतमा गर्न नपाउने बताउँछ ।
यसैबीच, कुश्माकै छमर्के स्थित गणेश चोकमा फडानी गरिएको गाँजाका बोटहरु पनि बिहीवार नै नष्ट गरिएको छ । पर्वत प्रहरीले अबैध मानिएको गाँजाका ३ सय ७० ओटा बोटहरु केही दिन अगाडि फडानी गरेको थियो ।  अबैध रुपमा हुने कुनै पनि कारोबारको नियन्त्रण गर्नका लागि पर्वत प्रहरीले आप्नो- योजना अनुसार बिभिन्न कामहरु गरिरहेको प्रहरी निरीक्षक राजन रायमाझीको भनाई छ ।