२८ बैशाख
पोखरा। गण्डकी प्रदेशको राजधानी पोखरामा चौबिसै घण्टा खुल्ला हुने मनोरञ्जन क्षेत्र (इन्जोय जोन) बनाइने भएको छ । थाइल्याण्ड लगायत देशको यौन पर्यटनकै विकसित रुपमा ‘इन्जोय जोन’ को परिकल्पना गरिएको हो । यसका लागि डिपिआर समेत बनाउन लागिएको छ । डिपिआर बनाउन ९ करोड रुपैयाँ विनियोजन भैसकेको प्रदेश सरकारले जनाएको छ ।
पोखरा पर्यटनको हब भएकोले आगन्तुक पाहुनालाई लक्षित गरी पोखरा क्षेत्रमा रेडलाइट क्षेत्रको परिस्कृत रुप ‘इन्जोय जोन’ बनाउने तयारी गरेको हो । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिमाल र ताल देखिने गरी पोखराको लेकसाइड नजिक क्षेत्रमा आगन्तुक पाहुनालाई विश्वमा उपलब्ध हुने अधिकांश सुविधाहरु उपलब्ध हुने गरि २४ सै घण्टा खुल्ला हुने इन्जोय जोन बनाउने तयारी गरेको बताए ।
‘पोखरा आएको पर्यटकहरुलाई अब हामीले हाम्रो कला संस्कृतिको साथमा विश्व बजारमा उपलब्ध हुने सम्पूर्ण सेवा सुविधा हामीले दिन सक्नु पर्छ । यसको लागि हामीले डिपिआर तयार पार्दैछौं । यसको संचालन गर्ने जिम्मा भने निजी कम्पनीलाई दिने हो ।’ उनले भने ।
सरकारले तोकेको निश्चित ठाउँमा पर्यटकीय गतिविधि खुल्ला हुने तर त्यसको निगरानी गर्न भने बाहिरी घेरामा आवश्यक्ता अनुसारको सुरक्षाको समेत व्यबस्था हुने मन्त्री लम्सालले बताए । ‘सरकारले इन्जोय जोन घोषणा गरे पश्चात उक्त क्षेत्रमा भएको पर्यटकीय गतिविधिमा प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्दैन । विश्वका पर्यटकीय मुलुक डेनमार्क, थाइल्याण्ड लगायतका देशमा हुने सम्पूर्ण पर्यटकीय गतिविधि सजिलै गर्न मिल्छ ।’ उनले थपे ।
रेडलाईटबारे सोधेको प्रश्नमा उनले भने–‘पर्यटकीय गतिविधि भित्र के के पर्छन्, तपाई आफैँ जान्नुहोस । लामो समय ट्रेकिङमा गएका विदेशी पाहुनाहरुलाई आवश्यक पर्ने खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङ, स्पा, मसाज, ज्याकुजी लगायतका मनोरन्जनका विभिन्न सुबिधा उपलव्ध हुनेछन् । उनले घुमाउरो तवरले रेडलाइट क्षेत्रको परिस्कृत स्वरुपमा यौनजन्य क्रियाकलाप सहितको इन्जोय जोन संचालन हुने जनाए ।
आज पर्वत जिल्लामा भएको पत्रकार सम्मेलनमा भने मूख्यमन्त्री पृथ्वी सूव्वा गूरुङ्गले रेडलाईट एरिया वा ईन्जय जोनको वारेमा कूनै जानकारी नभएको वताएका थिए । पत्रकारको जिज्ञासामा उनले यस वारेमा कूनै कूरा नभएको वताएका थिए ।









