२६ वैशाख
जनकपुरधाम । श्रीमतीलाई जिउँदै आगो लगाएर भागेका मुकेश यादवको भाउजुसँग अवैध सम्बन्ध रहेको खुलेको छ ।
धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले ५ वैशाखमा २२ बर्षीया पत्नी निर्मलादेवीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । निर्मलाको उपचारका क्रममा १६ गते मृत्यु भयो ।
मुकेशका दाजु लामो समयदेखि रोजगारीको सिलसिलामा विदेश गएका थिए । यता मुकेश र उनकी भाउजु श्यामादेवीबीच अवैध सम्बन्ध रह्यो ।
मुकेशले फागुनमा कमला नगरपालिका–५ की निर्मलासँग बिह गरे, करिव ५ महिनाअघि मुकेश दाइ नागे यादव फर्किए । तर, देवर–भाउजुको सम्बन्ध कायमै रह्यो । एक दिन निर्मलाले दुबैलाई आपत्तिजनक अवस्थामा देखेपछि श्रीमान् श्रीमतीबीच विवाद सुरु भयो । उही विषयलाई लिएर मुकेश र निर्मलाबीच झगडा पर्थ्यो ।
तर, नागेले भाइ मुकेश र श्यामादेवीको सम्बन्धबारे थाहा पाएनन् ।
घटना भएको दिन पनि निर्मला र मुकेशकाबीच झगडा भएको थियो । मुकेश ‘तेरो सबै लुगा जलाइदिन्छु’ भन्दै धम्की दिएर पेट्रोल लिन निस्किए । घरनजिकै उनको भाउजु श्यामादेवीकै पसल थियो, जहाँ उनले पानीको बोतलमा पेट्रोल बेच्दै आएकी थिइन् ।
मुकेश पेट्रोल लिन पुग्दा भाउजुले किन चाहियो भनेर सोधिखोजी गरिन् । मुकेशले निर्मलाको सबै कपडा जलाइदिन्छु भनेका रहेछन् । तर श्यामादेवीले ‘किन लुगा मात्रै, उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौंला’ भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसअनुसार मुकेशले निर्मलालाई जिउँदै जलाए ।









