२८ फागुन

काठमाडौं : थैली कम राखेर जग्गा पास गरेको आरोपमा मालपोत कार्यालय पर्साका मालपोत अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत पदमप्रसाद अर्यालसहित चार जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उक्त मुद्दामा मालपोत अधिकृत अर्यालसहित रजिस्ट्रेसन फाँटका नासु दयाराम खत्री, नासु लेखनाथ भट्टराईलाई प्रतिवादी बनाइएको छ। लेखनदासको मिलोमतोमा उनीहरूले ३५ लाख मूल्य पर्ने जग्गा तीन लाखमा पास गराएका छन्।

भक्तपुर चित्तपोल ४ घरभई हाल वीरगन्ज उपमहानगरपालिका ४ विर्ताका शारदा देउजाको नाममा रहेको घर जग्गा कौशलकिशोर श्रीवास्तवलाई कम मूल्य राखी पास गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव रामेश्वर दंगालले जानकारी दिए।

लेखनदासको मिलोमतोमा वीरगन्ज ४ को कित्ता २३७ मा रहेको २ तले पक्की घरको ३ लाख मोल राखी पास गराइएको अख्तियारको अनुसन्धानबाट देखिएको छ। उक्त जग्गा पासमा तीनको लाख मूल्य तोकेर १२ हजार राजस्व मात्र तिरेको देखिन्छ। ३२ लाखको १ लाख २८ हजार राजस्व ठगी गरेको देखिएको अख्तियारले जनाएको छ।