२० फागुन

जनकपुरधाम । विवाहका निम्ति जन्तीहरु बेहुलीका घरमा पुग्छन् । बेहुली पक्षले राम्रै मान–सम्मानका साथ जन्तीको स्वागत गर्दै खाजा र खानासम्म खुवाउँछन् । तर, विवाह चाहिँ हुँदैन । र, जन्तीहरु बेहुलो मात्रै लिएर रित्तै फर्कन्छन् ।

खासगरी फिल्ममा मात्र देख्न पाइने यस्तो घटना धनुषा जिल्लाको शहीद नगरपालिका वडा नम्बर ३ यदुकुआमा देखिएको छ । यहाँकी एक युवतीसँग विवाह गर्न धनुषाकै सबैलाबाट जन्तीसहित बेहुला आएका थिए । आइतबार राति जन्ती आएर विवाहका प्रायः सबै विधि पूरा भएर सिन्दूर हाल्ने बेलामा युवती एकाएक गायव भएपछि गाउँभरि खैलाबैला मच्चिएको छ ।

मधेसी दलित समुदाय अन्तर्गत राम थरका युवा–युवतीबीच आइतबार राति विवाह तय भएको थियो । सोहीअनुसार युवक पक्ष जन्तीसहित विवाह गर्न यदुकुआ पुगेका थिए ।

जन्ती आएपछि युवती पक्षले स्वागत सत्कार गरेपछि मैथिली परम्परा अनुसार विवाहपूर्व हुने स्वयंवर प्रक्रिया पनि सम्पन्न भइसकेको थियो । स्वयंवरपछि युवतीको आँगनमा बनाइएको मण्डपमा अन्य वैवाहिक कार्यक्रम अगाडि बढाउनुपूर्व नै युवती आफ्नो घरबाट गायव भएको स्थानीयहरुलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय यदुकुआका इञ्चार्ज एवं प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिए ।

‘राति १ बजेतिर बेहुली वेपत्ता भएको मौखिक खबर आयो’ प्रहरी निरीक्षक खड्काले भने, “त्यसलगत्तै हामी बेहुलीको खोजीमा जुटेका छौं ।” दुबै पक्षले विवाहका लागि लाखौं खर्च गरे पनि विवाह हुन नसक्दा गाउँलेहरु निराश भएका छन् ।

यद्यपि स्थानीयहरुका अनुसार युवतीको इनर्वातिरका एक युवकसँग प्रेम भएको र उनी प्रेमीसँगै भागेको हुन सक्ने प्रहरीले बतायो । युवती भागेपछि यो विषयले स्थानीय युवा युवतीमाझ विशेष चर्चा पाएको छ । अनलाईनखवर वाट