२९ माघ

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी पहिलोपटक नेकपा सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुनुभएको छ । निर्वाचनताका पोखरा–बागलुङ–बेनी रेल ल्याउने र कुश्मामा रेलवेस्टेशन बनाउने आश्वासन बाँडेर फर्केका केपी ओली र नेकपाका नेताहरुलाई आइतवार काँग्रेस नेता जोशीले त्यही मञ्चबाट कुश्मामा रेल ल्याए आफू नेकपाकै झोला बोक्न तयार रहेको उद्घोष गर्नुभयो । राजनीति जनताको समृद्धि र जिल्लाको विकासभन्दा ठूलो नभएको उल्लेख गर्दै नेता जोशीले भन्नुभयो ‘नदीमा पानीजहाज, पोखरा–कुश्मा रेल र घर–घरमा ग्याँसपाइप आउँछभने मलाई काँग्रेस भइरहनु पर्दैन, म तपाईंहरुकै झोला बोक्छु ।’

पर्वत जिल्लाबाट लगातार निर्वाचन जितेर ३ पटक सांसद भइ जिल्लाको बाटो, बिजुली, खानेपानी, सिंचाई, स्वास्थ्य, शिक्षा र आयआर्जनका क्षेत्रमा निकै काम गरेका जोशीले सरकार चुनाव जितेको केही महिनामै हामीले पारेको योजना भनेर बत्ती बाल्दै र रिबन काट्र्दै हिँड्ने नेकपाका नेताहरुलाई जनतामा भ्रम नछर्न सुझाव समेत दिनुभयो । ‘०५६ सालदेखि ७४ सम्म जनप्रतिनिधिका रुपमा मैले थुप्रै काम गरेको छु । मलाई अर्जुन जोशीले केही गरेन भन्नेहरु म आउनुअघि पैदल हिड्दै शालिजा, लेखफाँटदेखि टकलाकसम्म पुग्नुहुन्थ्यो तर अहिले मेरै पहलमा निर्माण भएका सडकमा हिँडेर अर्जुन जोशीले के ग-यो भन्ने हैसियत राख्नुभएको छ’ जोशीले भन्नुभयो ‘म जनप्रतिनिधिका रुपमा पहिलो पटक निर्वाचित हुँदा सडकमा मात्रै होइन, शिक्षा, स्वास्थ्य, सञ्चार सबैक्षेत्र निकै पछाडी थियो तर १७ बर्षको अवधिमा पर्वत जिल्ला मानव विकास सुचकांकमा ११ जिल्लामा पुग्दा मलाई खुशी लागेको छ ।’

नेता जोशीले पछिल्लो निर्वाचनलाई नेकपाले भ्रम र सपनाको उधारो कारोबार गरेको वताउँर्दै जनताले त्यसको हिसावकिताव माग्दाको दिन ओली सरकारको आयु समाप्त हुने दावी गर्नुभयो । अर्जुन जोशीले केही गरेन भन्नेहरु खसी डो¥याएर हिँड्नेसँग कुकुर भनेर खोसेर खाएजस्तै भएको टिप्पणी गर्नुभयो । ‘एउटाले खसी किनेर डो¥याउदै हिडेको रहेछ, १२÷१५ जना छट्टु मिलेछन् र त्यो खसी खाने निधो गरेछन् । तीन जना, तीन जना भएर चार, पाँच ठाउँमा गएर बसेछन् । उनीहरुले पालैपालो ठाउँठाउँमा कहाँबाट ल्याउनुभयो यो कुकुर, कहाँ हिडाल्नुभयो यो कुकुर भनेर भनियो । त्यसपछि खसीवालाले साच्चिकै मैले कुकुर पो ल्याएको रहेछु भनेर छाडेर गएछ र ती छट्टुहरु मिलेर त्यो खसी खाएछन्’ जोशीले व्यङ्ग्य गर्नुभयो । तर खसीलाई एकचोटी त कुकुर बनाउन सकिएला तर सँधैभरि सकिँदैन ।’– नेता जोशीले भन्नुभयो । आफुले जिल्लामा भित्राएका क्रमागत योजनामा अहिले बजेट नआएको भन्दै उहाँले असन्तुष्टि जनाउनु भयो ।

नयाँ जनप्रतिनिधि आउनासाथ योजनाको शिलन्यास गर्दै हिँडेर मैले ल्याएको भन्ने गरेकोमा पनि उहाँले आक्रोश पोख्नुभयो । ‘पर्वतको विकास निर्माणको काममा माघमा जन्मेको स्यालले पुष महिनाको बखान गरेजस्तै भएको छ । चुनाव जितेको तीन महिनामा शिलन्यास गरेर मैले योजना ल्याएँ भन्नु भ्रम हो, काम गर्दा कति लामो प्रक्रिया हुन्छ भन्ने मलाई राम्रोसँग अनुभव छ’ उहाँले भन्नुभयो ।

नेता जोशीले यो सरकारसँग दुईतिहाई बहुमत रहेकोले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन बाहेक सबै काम गर्न सक्ने दावी गर्दै तर काम गर्ने इच्छा र तत्परता सरकारसँग नभएको वताउनु भयो । ‘महङ्गी बढेको छ, जनताले सास्ती पाएका छन्, अपराध र भ्रष्ट्राचार मौलाएको छ, सरकार कुहिराको कागजस्तै भएको छ ।’–नेता जोशीले भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशीले पर्वतका साँसद प्रति लक्षित गदै भने–‘पर्वतको विकास निर्माणको काममा माघमा जन्मेको स्यालले पुष महिनाको बखान गरेजस्तै भएको छ ।

Gepostet von Sajan Pariyar am Montag, 11. Februar 2019