२३ माघ
काठमाडौं। नेपाली काङ्ग्रेसले निश्चित कुनै घटनालाई आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर रुपमा लिएको जनाएको छ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका केही दुःखद घटनालाई आधार मानेर हालै पोखरामा सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाइएको भन्दै गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको हो।
बैठकले यही माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौँको जनसहभागिताप्रति आभार प्रकट गर्दै छोटो समयमा भव्य प्रदर्शन अयोजना गर्ने पार्टीका सबै जिल्ला कार्यसमितिलाई धन्यवाद दिएको छ। साथै प्रदर्शनको समाचार व्यापक रुपले सम्प्रेषण गर्ने सबै सञ्चारमाध्यमलाई पनि बैठकले धन्यवादज्ञापन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुङ्गाना र मोहनबहादुर बस्नेतले आफ्नो धारणा राखेका थिए। केन्द्रीय कार्यसमितिको बैठक भोलि माघ २४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।









