८ माघ

पर्वत । पर्वतको कुश्मामा सोमवारबाट सप्ताहव्यापी महायज्ञ शुरु भएको छ । गायत्री आमा समूहको आयोजनामा गायत्री शठकोष राधामाधव सत्संग आश्रम निर्माणार्थ श्रीमद्भागवत महायज्ञ शुरु भएको हो ।

सोमवार एक समारोहका बिच ९१ वर्षिय समाजसेवी देवका आचार्यको आतिथ्यतामा महायज्ञ शुरु भएको हो । कुश्मा नगरपालिका ४ चिलाउनीचौतारा स्थित नवनिर्मित संत्संग आश्रममा महायज्ञ सञ्चालन गरिएको छ । महायज्ञको उद्घाटन समारोहमा प्रमुख कथाबाचक भागवत भास्कर कमलनयन गौतमले धर्मको माध्यमबाट विकास संभव रहेको बताउनुभयो ।

उहाँले आफुले आर्जन गरेको १० प्रतिशत आय धर्ममा खर्च गर्नुपर्ने विभिन्न धर्मग्रन्थमा उल्लेख रहेको बताउँदै दान गर्ने व्याक्ति कहिल्यै समस्यामा नपर्ने दावी गर्नुभयो ।

पर्वतको कुश्मामा आमा समूहको सक्रियतामा आयोजित यज्ञलाई सफल बनाउन सबै जनाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उक्त समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मँ पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने,विश्व हिन्दु महासंघका अध्यक्ष एवं समाजसेवी लोकनाथ आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, चन्ददाता लक्ष्मीप्रसाद सापकोटा, नेकपाका नेता शंकर गिरी, गुप्तेश्वर कोटीहोम सञ्चालन समितिका अध्यक्ष पृथ्वीनारायण शर्मा, परमेश्वर अच्यूत प्रभुजी, व्रह्मकुमारी ईश्वरिय विश्वबिद्यालय कुश्माकी प्रमुख राधिका दिदी लगायतले बोल्नुभएको थियो । गायत्री आमा समूहकी अध्यक्ष सितादेबी खत्रीले आमा समूहको एक्लो प्रयासले मात्रै सत्संग भवन सम्पन्न हुन नसक्ने भएकाले सबैले भवन पुरा गर्न र सञ्चालनको खर्च जुटाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमको स्वागत गायत्री आमा समूहकी सचिव रिता केसी भण्डारी र सञ्चालन पत्रकार कृष्ण अखेलीले गर्नुभएको थियो ।