१३ पुस
पर्वत । विगत तीन सातादेखि पर्वत सदरमुकाम कुश्माबजारको फोहोर उठ्न नसकेपछि बजारबासीले फोहोर थुपारेर मुख्य सडक अबरुद्ध पारेका छन ।
संकलित फोहोर फाल्ने स्थानको अभावमा फोहोर नउठाईदा कुश्माबजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएपछि बजारबासीले सडकमै फोहोर थुपारेर बिरोध गरेका हुन । सेक्रेड नेपाल गैरसरकारी संस्थालाई जिम्मा दिए पछि फोहोर व्यवस्थापनमा कठिनाई भएको छ ।
बजारको फोहोर फाल्दै आइएको मोदीखोला किनारको भिरमा स्थानिय बड्गाउँचौर सामुदायिक वन उपभोक्ता समुहले अबरोध गरेपछि बजारबासीले सडकमै फोहोर फालेर यातयात अबरुद्ध गर्न बाध्य भएको स्थानियबासी बताउँछन । फोहोर फाल्ने बैकल्पिक ब्यबस्था गर्न लागेको समयमा सामुदायिक वनले खाल्डा खनेर फोहोरको गाडी जान नसक्ने गरि अबरुद्ध पार्दै आएको छ ।
मंसिर २३ गते देखि वन समुहको अवरोधका कारण फोहोर उठ्न नसकेपछि बजार दुर्गन्धित भैरहेको बाध्य भएर सडकमै फालेको स्थानियबासीको भनाई छ । कुस्मा बजारको फोहोरलाई डम्पिङ्ग साइड नचाहिने गरि फोहोर ब्यबस्थापन गर्न कुस्मा नगरपालिका र सामुदायिक स्रोत तथा वातावरणीय बिकास केन्द्र सेक्रेड नेपाल बिच सम्झौता भएको छ । कुस्माको फोहोर ब्यबस्थापन गर्नका लागि सिक्रेड संग पाँच बर्षलाई जिम्मा दिइएको छ ।
उक्त संस्थाले सिल्मीमा फोहोर फाल्ने जमिन खरिद गरेको विवरण पेश गरेर परियोजना लिन सफल भएको थियो । फोहोर संकलनका लागी कुहिने र नकुहिने वस्तु छुट्टाएर कम्पोष्ट मल वनाई विक्री वितरण गर्ने उक्त परियोजना प्रस्तावमा उल्लेख गरिएको छ । फोहोर संकलन र व्यवस्थापन वाट वचत भएको रकम नगरपालिकालाई सिक्रेट नेपालले भुक्तानी गर्ने समेत उल्लेख छ । फोहोर फाल्ने जग्गा व्यवस्थापन देखि सवै कार्य गर्ने गरि गैरसरकारी संस्था सेक्रेडलाई नगरपालिकाले ५ वर्षे संझौता गरि जिम्मा लगाएको छ ।
जग्गा व्यवस्थापनका लागी सिल्मीको फाँट, परादी, चुवाको मोदीखोला किनार र खरेहामा समेत निजी जमिन खरिद गर्न खोज्दा अबरोध भएको नगरपालिकाले जनाएको छ ।‘ बैकल्पिक ब्यबस्था गर्न खोज्दा जमिन नै किन्न नदिने गरि असहयोग भैरहेको छ ’, मेयर रामचन्द्र जोशी भन्छन ‘बैकल्पिक ब्यबस्था नहुने समय सम्म पहिले नै फालिरहेको ठाउँमा फोहोर फाल्नुको बिकल्प छैन ।’ सामुदायिक वनका उपभोक्ता पनि बजारबासी नै भएका कारण फोहोर फाल्न अबरोध नगरि सहयोग गर्न उनले आग्रह गरे ।
कुस्मा बजारको फोहोर अहिले सम्म जंगल र नदी किनारमा फाल्ने अवस्था रहेको छ भने कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएर संकलन हुँदै आएको छ । घरमै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने ब्यबस्था गर्न लागिएको थियो । घरघरघरबाट उठाएर ल्याएको फोहोर मध्ये कुहिनेबाट कम्पोष्ट मल उत्पादन तथा बिक्री हुने फोहोर बिक्री गर्ने र कतै बिक्री नुहने फोहोरलाई खाल्टो खनेर गाड्ने र बायुमण्डल प्रदुषण नहुने गरि जलाएर नष्ट गर्ने योजना छ ।
बड्गाउँचौर सामुदायिक वन उपभोक्ता समुहले भने वन क्षेत्रमा फोहोर फाल्दा बर्षेनी डढेलो लाग्दै आएको बताएको छ । अध्यक्ष मानकुमारी गिरीले पटक पटक नगरपालिकाले समय माग्ने तर काम नगर्दा बाध्य भएर फोहोर फाल्न रोकेको बताईन । कूश्मा वजारको फोहोर व्यवस्थापनका लागी यस भन्दा अगाडी सफा कूश्माका लागी सामूहिक अभियान पर्वतले कार्य गरिरहेको थियो ।









