
५ पुस
काठमाडौं । नयाँ पत्रिका दैनिकले मन्त्रीहरुले दोहोरो इन्धन सुविधा चप्काउँदै आएको विषय उठाएको छ । नयाँ पत्रिकाका अनुसार, २४ मध्ये २३ मन्त्रीले दोहोरो सुविधा लिँदै आएका छन् । यति मात्रै होइन, स्वकीय सचिवलाई पनि गैरकानूनी रुपमा गाडी र इन्धन दिलाएका छन् । अर्थमन्त्री युवराज खतिवडा भने यो मामलामा चोखो देखिएका छन् । उनले अन्य मन्त्रीले जस्तो दोहोरो इन्धन सुविधा नलिएको समाचारमा लेखिएको छ
नयाँ पत्रिका लेख्छ- प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दोहोर्याइरहेका छन्,प्रधानमन्त्रीको नारा सूशासन हाम्रैपालामा । तर उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् । मन्त्रिपरिषदका सदस्यहरुको पारिश्रमिक सेवा-सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरुले मन्त्रालय वा मातहतबाट तेल हालिरहेका छन् ।
समाचारअनुसार अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको छ । सरकारी कर्मचारीबाटै सम्पत्ति असुरक्षित भएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । आपराधिक गिरोहसँग मिलेर धनीलाई थाहै नदिई जग्गा तथा कम्पनी बिक्री गरिदिन थालेका घटना बढ्न थालेका छन् । समाचार अनुसार यस्ता दुई समूहलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही थालेको छ ।








