२ पुस

काठमाडौं – टोखा नगरपालिका–८ मिलनटोलमा एक महिलाको हत्या भएको छ। हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ।

मिलनटोलमा डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको आइतबार राति हत्या भएको थियो। उनी आफ्नै कोठमा मृत फेला परेकी थिइन्।उनलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै महानगरीय प्रहरी वृत्त महारा जगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ ।

वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विगत पाँच महीनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिनुभयो । “विगत लामो समयदेखि सार्वजनिक यातायातमा पाकेटमारी हुने गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो ।