२३ मंसीर
मिस वल्र्ड प्रतियोगिता सकियो । अनि निर्मला हत्या प्रकरण ? सायद यो पनि सकियो ! देशका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक अभिव्यक्ति दिदै भनेका कुरालाई आधार मान्ने हो भने निर्मलाका हत्यारा पत्ता लागिसक्यो ? बस सार्वजनिक गर्न मात्र बाँकी छ ? श्रृङखला र निर्मलालाई जोडेर धेरै टिका टिप्पणीहरु भए ।
विश्व सुन्दरीकी प्रतिस्पर्धी श्रृङखला र बलात्कार पछि हत्या भएकी निर्मलाबीच के समानता थियो र ? शायद केही पनि थिएन । तर पनि श्रृङखलाका लागि भोट र निर्मलाका लागि न्याय माग्नु संयोग एकै पटक प-यो । दुई विल्कुलै पृथक बिषय भए पनि नेपाली समाजले देखाएको चासोले स्पष्ट पार्छ कि हामी सायद अब उदार हुँदै छौँ ।
धेरै अघिको कुरा होइन जब मुलुकमा सुन्दरी प्रतियोगीता हुँदा सभाहलको बाहिर नारा र जुलुस निकालिन्थ्यो । आज समय फरक छ । सुन्दरी प्रतियोगीतालाई शरीरको सुन्दरता र शरीरको प्रर्दशन भन्ने सोच व्याप्त थियो । बिषेश गरी कम्युनिष्ट नेताहरु सुन्दरी प्रतियोगिताको विरोध गर्दथे ।
र आज संयोगले नाम नै विरोध भएका कम्युनिष्ट नेता कै छोरी विश्व सुन्दरी प्रतियोगिताको टप १२ सम्म पुग्न सफल भइन् । यति हुँदा पनि हिजो प्लेकार्ड बोकेर विरोध गर्ने नेता तथा नेतृहरुले आत्म आलोचना गरेका छैनन् । श्रृङखलाको उपलब्धीले गर्वले छाती फुलेकाहरुको मनमा हिजोको विरोधको चित्र त धमिलै भए पनि झलमल आइरहेकै होला नी ।
उनीहरुलाई लाग्दो हो, समय बदलियो । वास्तविकता त्यो होइन, हाम्रा चेलीहरु हिजो पनि सही थिए र आज पनि सही छन् । सुन्दरतालाई केवल शारीरिक मात्र देख्ने केही कमरेडहरुको आँखामा फुलो परेको थियो । आज पनि छोटा लुगा लगाउनु हुन्न भनेर लुगामै केन्द्रित हुने अभिभावकहरु छन् ।
पढाइमा अब्बल र फेशनमा पनि अब्बल श्रृङखलाहरु यो देशै भरी छन् । शरीर र हृदयको सुन्दरताको खोजी गरेर मिस नेपाल लगायतका प्रतियोगिता आयोजना हुनु न हिजो उच्श्रृङखल थियो न आज न भोली न उच्श्रृङखल हुनेछ । साँघुरो सोच फराकिलो हुन एउटा युग नै पर्खिनु प-यो ।
अब कुरा निर्मलाको । सुन्दरी प्रतियोगिता सकिएकै दिन सरकारका उपप्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लागेको उद्घोष गरेका छन् । अपुष्ट समाचारका अनुसार २ जना युवकले यो अपराध स्वीकार गरेका छन् । निर्मलाको हत्यारा पत्ता लागेछ, स्याबास सरकार ! स्याबास नेपाल प्रहरी ! तर हत्यारा सार्वजनिक गर्नु अघि २/४ प्रश्नको उत्तर चाँही तयार पार्नू होला ।
१. दिलिप सिंह बिष्टलाई किन दोषी बनाइएको ?
२. डिएनए म्याच नगरिकन किन सार्वजनिक गरिएको ?
३. अनुशन्धानमा संलग्न उपसचिवले किन सुरक्षाको खतारा भएको अभिव्यतmी दिएको ?
४. सुरुवाल किन पखालिएको ?
५. निर्मलाको बुबाको हस्ताक्षर किन किर्ते गरेको आदी आदी ?
अपराध स्वीकार गरेका भनिएका युवाहरु कुनै हाइ प्रोफाइल लाग्दैनन् । सामान्य सर्वसधारण देखिन्छन् । एसपी बिष्ट र उनको टिमले न्वारन देखिको बल लगाएर यिनै दुइटा केटालाई जोगाउन खोजको हो त ?
अब डिएनए जाँच प्रहरीले नै गर्दा आम सर्वसाधारणलाई विश्वास लाग्ला त ? हामीलाई विश्वास छ, देशका उप प्रधानमन्त्रीले उप बुज्रुक भएर होइन यी सारा प्रश्नको उत्तर लिएर नै सार्वजनिक घोषणा गरेका हुन् ।
नत्र हिरो हुने होडमा जीरो हुन कति पनि बेर लाग्दैन । एक घण्टा अघिसम्म सिआइबीले अपराधी पत्ता लागेको पुष्टी गरेको छैन । तर उपप्रधानमन्त्री ईश्वर पोखरेल ज्युलाई भन्ने, अनि मिडियालाई चाही नभन्ने नयाँ नीति पो हो की ?
निर्मला काण्डमा यत्रो आलोचना खेपेको सरकारले निर्मलाको हत्यारा पत्ता लगाउँदा सानो स्वरमा बोल्छ र ? निर्मलाको हत्यारा पत्ता लागेको हो भने त सरकारको बचाउ कर्ताहरुले दिन दहाडै मान्छे कुट्दै हिड्न सक्छन् ।
उपप्रधानमन्त्री ज्युको मुखमा दुधभात जाओस् अनि निर्मला काण्डलाई लिएर सरकारको खेदो खन्नेहरुले केही दिन हेलमेट लगाएरै हिडेको राम्रो । आफ्नो सुरक्षा आँफैले नगरे कसले गर्छ र ?









