१७ मंसीर
कूश्मा पर्वत, २७ औं अन्ताराष्ट्रिय अपाङ्गता दिवस आज पर्वतमा अन्तरकृया कार्यक्रमको आयोजना गरी मनाइएको छ ।‘अपाङ्गता भएका ब्यक्तिहरुको शशक्तिकरण तथा समावेशी र समानताको सुनिश्चिता’ भन्ने अन्तराष्ट्रिय नारा र ‘मलाई समावेश गर, गणना गर’ भन्ने राष्ट्रिय नारा सहित उक्त दिवश मनाइएको हो । हरेक वर्ष ३ डिसेम्वर यो कार्यक्रम मनाउने गरिन्छ ।

कार्यक्रमको प्रमूख अतिथि कुश्मा नगरपालिका उपप्रमुख सीता काफ्ले लामिछानेले अपाङ्गता भएका व्यक्तिहरुको पाउने संवैधानिक हक दिलाउनका लागी कूश्मा नगरपालिक पूर्ण रुपमा प्रतिवद्ध रहेको वताउनू भयो । स्थानीय सरकारसँग समन्वय गरेर अपाङ्ग उत्थान समाजले काम गरेमा नगरको तर्फवाट सहयोग गर्ने वचन दिनूभयो। उहांले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि आफू सधै लडिरहने वताउदै हामीले निर्माण गर्ने भौतिक संरचना,हामीले गर्ने व्यवहार अपाङ्गमैत्री हूनूपर्नेमा जोड दिनूभयो। कूश्मा नगरले दिने सेवा अपाङ्गमैत्री हुने वचन दिनुभयो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम आचार्य, पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपी अधीकारी,कूश्मा नगरपालिकाका शिक्षा समन्वय ईकाइका प्रमूख रुद्रनारायण सापकोट,लोकतान्त्रिक गैसस अध्यक्ष गणेशबहादुर क्षेत्री, कुश्मा ७ का वडा अध्यक्ष सुवास पौडेल लगायतले शूभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाकी महिला विकास अधिकृत दडलकुमारी शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले स्थानीय सरकार आएपछि परीचयपत्र वितरणमा समस्या देखिएको, लक्षीत वर्गलाई विनियोजन रकम सम्बन्धित क्षेत्रमा नपुगेको, सरकारी तथा सार्वजनिक भवन अपाङ्गता मैत्री नभएको गुनासो गरेका थिए । अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्यथ्य र रोजगारमा क्षमताका आधारमा समावेश गर्नुपर्ने अपाङ्गता भएका व्यक्तिहरुले माग गरेका छन् ।

अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष किशोर मनष्वीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष हरिदत्त शर्मा र संचालन सचिव जमुना आचार्यले गर्नुभएको थियो ।

पर्वत जिल्लामा झण्डै २९ सयको हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरु रहेको अपाङ्ग उत्थान समाजले जनाएको छ ।
नेपालको संविधान र मौलिक हक अन्तरगत अपाङ्गता भएका नागरिकलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका सवै निकायमा सहभागिता गराउनुपर्ने व्यवस्था गरिएको छ ।